दुवाकोट बन्दी ब्यारेकबाट १८ दिनको बसाइपश्चात् छुट्नासाथ हिजो १२ बजे घर नगई बिजय जुलुसमा परिवारका साथ गइयो। सात दोबाटोदेखि कलङ्की पैदल हिँडेर ऐतिहासिक जनआन्दोलनमा सडकको जमातमा संलग्न हुनपाएकोमा हर्सोल्लासको सिमा नै रहेन। तर यो लामो हिँडाइमा विचार गर्ने मौका पनि मिल्यो।
यो जनआन्दोलनले हिंस्रक क्रान्ति बिनानै शान्तिपूर्ण सत्याग्रही क्रान्तिले निरङ्कुश नायकलाई फाल्न सक्दोरहेछ भन्ने पुष्टि गरेको छ। पक्कै पनि गम्भीर उत्तरदायित्व सबैको काँधमा आएकै छ, तर यतिबेला जनताले विजय प्रकट गर्दै रमाइलो गर्नुपर्नेछ। भोलि राजनीतिक दलमाथी पहरा त लगाइहालिन्छ। अतः एसिया र पूरा विश्वसामु 'पिपुल पावर' देखाउन सक्षम जनताले अहिले गर्व गर्न पाउन र तुरुन्तै नकारात्मक, 'सिनिसिजम्' बाट हामी बचौँ।
ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल जनताले, यदि राजसंस्था संविधानसभामार्फत खारेज भएन भने, सधैँ घुँडा टेकाएकै अवस्थामा राख्नु जरुरी छ। यो राजसंस्था र विशेषगरी ज्ञानेन्द्रको बदमासी कसैले बिर्सन नपाओस्, र आउँदा दिनमा दरबार र दरबारका आसेपासेले कदापि लोकतन्त्र भाँड्न नपाउन्।
आजै गर्नुपर्ने कुरा - ज्ञानेन्द्र राजालाई नारायणहिटीबाट महाराजगञ्जस्थित निजी निर्मलनिवासमा स्थानान्तरण गर्ने र संविधानसभा चुनावको नतिजा नआएसम्म अर्को निर्णय नलिने।
अर्को आजै गर्नुपर्ने कुरा - शाही सेनाको खिलाफमा केही साङ्केतिक क्रियाकलाप गर्न जरुरी छ। विशेषगरी, टुँडिखेललाई पूर्णरूपमा जनतामा फिर्ता गर्ने र १४ गतेको विजय र्यालीलाई सात दलका नेताहरूले शाही सैनिक मञ्चबाट सम्बोधन गर्ने। अन्त्यमा, यदि मन्त्रीमण्डलको शुक्रबार शपथ गर्नु परेमा एउटा अर्को 'राजनीतिक निर्णय' गरेर उक्त शपथ ज्ञानेन्द्र राजाको हातबाट नगरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशको हातबाट गराउने।
बाँकी मन्थन, आउँदो हिमाल खबरपत्रिकामा।
-कनकमणि दीक्षित
http://www.himalkhabar.com/content/view/667/38/