माघ १० -
-निर्मला अधिकारी
अजभन्दा दस वर्षपहिले २०६१ साल माघ ८ गते शुक्रबार दाङको देउखुरी सोनपुरबाट बेहुली लिएर गएको बस प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा बेहुला, उनको घरपरिवार र जन्ती गरी ४१ जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यो भयानक दुर्घटनाको समाचार नेपाली पत्रपत्रिकामा छ्यापछ्याप्ती आएका थिए । अहिले धेरैले त्यसलाई भुले पनि मैले बिर्सकी छैन । किनभने त्यो दुर्घटना प्रत्यक्ष भोगेर बाँचेकी बेहुली म नै हुँ ।
दुर्घटनापछि मलाई कोहलपुर शिक्षण अस्पताल लगेर उपचार गराइयो । बेहुलाको ज्यान गइसकेको थियो । केही समयअगाडि मेरो सिउँदोमा परेको सिन्दूरलाई टाउकामा परेको चोटबाट बगेको रगतले बगाएर शरीरभरि लत्पत्याएको थियो । एक महिनाभन्दा लामो उपचारपछि म घर र्फकन त सकेँ तर बाहिरी चोट ठीक भए पनि भित्री चोट कायमै थियो । बिहे गरेर अन्माएकी छोरीचेली आधा बाटोबाटै विधवा भएर र्फकेकाले माइतीघरमा पनि एक वर्षभन्दा लामो समयसम्म त्यो पीडा अनुहारमा देखिन्थ्यो । उता प्यूठानको टारी गाउँले त सबै पुरुषलाई दुर्घटनामा गुमाएको थियो । पछि सुनेँ, तत्कालीन बेहुला लोकराज रिजालकी आमालाई गाउँमा बस्न दिएन रे समाजले । उनले एकैचोटि श्रीमान्, छोराहरू, देवर, भान्जा, भतिजालगायतकालाई गुमाएकी थिइन् । पुरातन र अन्धविश्वासी समाजले अन्तत: ती पीडित नारीमाथि दोष थुपार्यो । र, उनी आफ्नो घरबाट विस्थापित भएर छोरीकोमा गएर बस्न बाध्य भइछन् ।
त्यसो त, उक्त दुर्घटनापछि मलाई पनि समाजले धेरै लान्छना र दोष लगाएको मैले अप्रत्यक्ष रूपमा सुनेकी छु । तर मेरै अगाडि वा मैले सुन्ने गरी चाहिँ कसैले केही पनि भनेन । मात्र मलाई हेरेर च्व, च्व... र हरे दैव भन्दै सुस्केरा हाल्ने काम आफन्तले गरेका थिए ।
दुई दिन अघि उक्त दुर्घटनाले दस वर्ष व्यतीत गरेको छ । आज मैले खाटा बसेका ती घाउलाई कोट्याएर फेरि नयाँ पीडा ओकल्न खोजेकी हैन । तर, हाम्रो नेपाली समाज कतिसम्म अन्धविश्वासी र आडम्बरी छ भनेर यी दस वर्षका मेरा अनुभव बाँड्न मात्र खोजेकी हुँ ।
उक्त दुर्घटनामा गम्भीर घाइते नभएर मलाई सामान्य घाउचोट मात्र लागेको थियो भने मैले के दुर्दशा भोग्नुपर्दथ्यो होला ! म कल्पनासम्म गर्न सक्दिनँ । दुर्घटना भएको दस वर्ष भइसक्दा त क्ताकति मेरो स्वाभिमानमा आँच पुग्ने खालका र मलाई दोषी ठान्ने कुराहरू सुन्दै आएकी छु । त्यस्ता कुरा सुन्दा मलाई चित्त दुख्नुको सट्टा नेपाली समाजको स्तर देखेर दया लाग्छ । यस्तै हो भने हाम्रो समाज रूपान्तरण कहिले हुन्छ भन्न सकिन्न । त्यो दुर्घटनापछि नेपाली समाजमा रहेको अन्धविश्वास र परम्परावादी सोच कस्तो छ ? यहाँ मेरो जीवनसँगका तीनवटा उदाहरण प्रस्तुत गरेकी छु ।
उदाहरण १
गर्जेनी दुर्घटना भएको १५ महिनापछि २०६३ वैशाख २४ गते मेरो दोस्रो विवाह भयो । श्रीमान्को स्थायी घर इलाम भए पनि उहाँ काठमाडौँलाई कार्यस्थल बनाएर बसिरहनुभएको रहेछ । उहाँसँगको मेरो बिहेको समाचार सोही दिन बेलुका कान्तिपुर टेलिभिजनले दृश्यसहित प्रसारण गरेको थियो । भोलिपल्टको कान्तिपुर दैनिकले अग्रपृष्ठमै फोटोसहित समाचार प्रकाशन गरेको थियो । थोरै आफन्त बोलाएर गरिएको भए पनि मेरो बिहेबारे धेरैले थाहा पाए । बिहे भएको एक वर्षपछि इलामका एकजना चिक्तिसक खेम कार्की प्यूठान गएछन् । एक गैरसरकारी संस्थामा कार्यरत डा. कार्की मेरो श्रीमान्को साथी पनि हुन् । गर्जेनीस्थित उक्त दुर्घटनास्थल पुगेपछि उनले गाडी रोकेर केही फोटो खिचेछन् । र, स्थानीयसँग दुर्घटनाबारे सामान्य कुराकानी गरेछन् । स्थानीयवासीले 'त्यो बेहुलीले गर्दा त्यत्रो दुर्घटना भयो, सबै मान्छे त्यसैको कारणले मरेका हुन्' भनेछन् । उनले मेरो दोस्रो बिहेको बारेमा उल्लेख गर्दा स्थानीवासीले जे भनेछन्, त्यो सुन्दा मलाई अचम्म लाग्यो । उनीहरूले 'अँ त्यो केटीले दोस्रो बिहे गरेकी थिई रे, तर बिहे गरको केही महिनामै उसको लोग्ने मर्यो रे ! त्यस्ती अलच्छिनी पो रहिछे त्यो केटी त !' भनेछन् । उनीहरूको कुरा सुनेर डा खेम पनि छक्क परेछन् । उनीहरूलाई भनेछन्, 'त्यो केटीको श्रीमान् मर्नु भएको छैन, उहाँ मेरो साथी हो ।' तर पनि उनीहरू पत्याउन तयार भएनछन् ।
उदाहरण २
२०६८ कात्तिकमा मेरो श्रीमान् धुलिखेलमा मोटरसाइकल दुर्घटनामा पर्नुभयो । एउटा कार्यक्रमबाट काठमाडौँ र्फकंदै गर्दा तातोपानी खासा जाँदै गरेको मालबाहक कन्टेनरले उहाँको मोटरसाइकललाई हिर्काएछ । शिक्षण अस्पताल महाराजगन्जमा दुई साताभन्दा बढी राखेर उपचार गरेपछि उहाँलाई ठीक भयो । उहाँले नै माइतीघर दाङ र हाम्रो घर इलामतिर आफन्तलाई तत्काल खबर नगर्न भनेकाले मैले कसैलाई पनि फोन गरिनँ । 'दुर्घटना भएर अस्पताल पुर्याएको र डाक्टरले खतरामुक्त भनेपछि बेकारमा अरूलाई पिरलो हुन्छ । सबै हाँपझाँप गर्दै आइपुग्छन्, किन दु:ख दिनु' भन्ने उहाँको सल्लाह थियो । त्यसैअनुसार मैले दुर्घटनाको केही दिनपछि मात्र आफन्तलाई फोन गरेँ । त्यसको एक वर्षपछि दसैँमा हामी इलाम गएका थियौँ । श्रीमान्को एकजना आफन्तले मोटरसाइकल दुर्घटनाको सूचना पाएका रहेछन् । भेटमा भनेछन्, 'तँ त मोटरसाइकल दुर्घटनामा परेर धन्न बाँचिछस् । त्यतिबेला हामीले त्यो बुहारी नै उस्ती रहिछे, पहिले पनि गाडी दुर्घटना भएर ऊ मात्र बाँची, अहिले पनि भाइ मर्ने भो भन्ने पो सोच्यौँ ।'
उदाहरण ३
श्रीमान् कामको सिलसिलामा अहिले देशबाहिर हुनुहुन्छ । त्यहाँको नेपाली दूतावासमा उहाँको गत असारमा प्यूठान टारीगाउँका एक व्यक्तिसँग भेट भएछ । नेपाल सरकारको उच्च ओहोदाको ती कर्मचारी उहाँ तालिमको सिलसिलामा त्यहाँ गएका रहेछन् । मेरो श्रीमान्सँगको परिचयका क्रममा उनले जन्तीको गाडी दुर्घटना भएर सबैजसोले ज्यान गुमाएको गाउँ आफ्नै भएको बताएछन् । उनले त्यो दुर्घटनाबाट बाँचेकी केटी बिहे गर्ने मान्छे भनेर मेरो श्रीमान्लाई चिनेका थिएनन् । कुराकानीका सिलसिलामा गर्जेनी दुर्घटना र त्यतिबेलाको अवस्थाबारे पनि चर्चा भएछ । तत्कालीन बेहुली अर्थात् मेराबारेमा पनि कुरा भएछ । ती कर्मचारीले भनेछन्, 'त्यो केटीको पनि पूर्वतिरै बिहे भएको थियो । तर अहिले त छोडपत्र भइसक्यो रे !' उहाँको कुरा सुनेर मेरो श्रीमान्ले हाँस्दै भन्नुभएछ 'ए कहिले भएछ नि छोडपत्रचाहिँ ? अनि किन छोडपत्र भएको रहेछ, तपाईंलाई थाहा छ ?' ती कर्मचारीले सामान्य रूपमा जवाफ दिएछन्, 'बिहे गरेको केही समयमै भयो रे । त्यस्ती केटीलाई कसले राख्छ र !' त्यसपछि श्रीमान्ले हाँस्दै भन्नुभएछ 'ती बेहुलीलाई मैले बिहे गरेको हुँ । उनी मेरी श्रीमती हुन् । हामीले सम्बन्धविच्छेद गरेका छैनौँ । हाम्रा दुईजना छोराछोरी छन् । तपाईंले गलत सुन्नुभएछ ।' त्यसपछि उनले धेरैपटक मेरो श्रीमान्सँग माफी मागेछन् । 'तपाईंले जे सुन्नुभयो त्यही बताउनुभयो । यसमा तपाईंको केही दोष छैन,' श्रीमान्ले जवाफ दिनुभएछ, 'दोष त हाम्रो समाजको छ । जहाँ कान नछामीकन हामी कागको पछाडि दगुर्छौँ ।'
यी तीनवटा उदाहरणले के स्पष्ट हुन्छ भने हाम्रो नेपाली समाजको बनोट परम्परावादी र संकीर्ण छ । यहाँ कुनै व्यक्ति विशेषको सबाल मात्र उठाएको होइन । नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण र विभेदपूर्ण नीतिमाथि चर्चा गरिएको हो । यही विभेदले गर्दा नभएका कुराको दोष पनि महिलामाथि थुपारिन्छ । एउटा चालकको गल्तीले गाडी दुर्घटना हुन्छ, तर दोषचाहिँ महिलालाई लगाइन्छ । प्राविधिक गल्तीले भएका दुर्घटनामा पनि महिलामाथि दोष थुपार्न समाज अग्रसर रहन्छ ।
समाजमा सामन्ती सोचले गर्दा महिलामाथि हिंसा बढिरहेको छ । भाषणमा आदर्शवादी र क्रान्तिकारी कुरा गर्नेहरूकै घर परिवारभित्र महिलामाथि भएका हिंसाका धेरै उदाहरण बाहिर आएका छन् । त्यसकारण सामन्तवादी सोच नेपालका सबैजसो राजनीतिक वृत्त, आर्थिक तथा सामाजिक क्षेत्रमा व्याप्त छ । जसले सामन्ती सोचलाई तोड्ने भाषण गर्छ, उसले पहिले आफ्नो बानी व्यहोरा सच्याउनुपर्छ । त्यसपछि आफ्नो घरपरिवारमा भइरहेका विभेदपूर्ण हिंसालाई हटाउनुपर्छ । अनि मात्र परिवर्तन सुरु हुन्छ । अर्ति र उपदेश दिन जति सजिलो छ, त्यही कुरा आफूमा लागू गर्न निकै कठिन हुन्छ । बाटोमा चुरोट तान्दै आएर कक्षामा विद्यार्थीलाई धूमपान गर्ने शिक्षकले 'म जे भन्छु त्यो गर तर म जे गर्छु त्यो नगर' भनेजस्तै गर्छ हाम्रो समाज ।
प्रकाशित मिति: २०७१ माघ १० ०७:२४