भाग-७
सार्थकलाइ मुटु गर्हौं पारेर घर जान मन लागेन। एकछिन त्यतिकै टोलाएर बस्यो, त्यसपछि मुख धोयो। अलिकति ताजा जस्तो भयो। लिजालाइ फोन गर्यो, तर लिजाको मोबाइल अफ थियो। शायद शुटिङमा होली अहिले, त्यस्तै सोच्यो सार्थकले। मनलाइ भुलाउने अरु केहि उपाय थिएन। त्रिस्नाको टिठलाग्दो अनुहार उसको आँखाभरि छाएको थियो। त्यस्तो मायालाग्दी केटीको न आमा छे, न बाबु छ, भए पनि नभएको जस्तै छ। हुन त बलबहादुरले छोरी भन्दा बढी माया गर्छ जस्तो लाग्छ। तैपनि बुबा र हजुरबुबाको माया फरक नैं हुन्छ। उसको कल्पनामा अर्ध बिराम लगाउन रमेश आइपुग्यो त्यहाँ।
"दाइ घर जाने होइन?" रमेश सोद्धैथ्यो।
"के हतार छ र? जाँउला नि।" सार्थक अझै बस्ने सुरमा थ्यो।
"आज नि आएका रहेछन् तिनिहरु? मैले अघि बाटो काट्दै गरेको देखेको थिँए बुढा र त्यो केटी" रमेशको मतलब त्रिस्ना र बलबहादुर थिए, प्रबेश उसले सम्झेन खासै।
"अँ, आए मैले पनि हुन्छ भने। मैले नगरेको कुरा हैन। जुनासङ मैले केहि महिना बिताएको थिंए बन्दिपुरमा।" सार्थक भन्दैथ्यो।
"को जुना?" रमेशलाइ कुरा बुझ्न गार्हो भो।
"त्रिस्नाकी आमा। तर त्यतिखेर हामी दुबै अपरिपक्व थियौं। त्यसैको नतिजा त्रिस्ना जन्मि।" सार्थकको साथीहरु रमेशले चिन्थ्यो, तर जुना धेरै टाढाकि र पहिलेकी परि क्यारे। रमेशले त्यति वास्ता देखाएन।
"भन्न सकिदैन। केटिहरु रहस्यमय नैं हुन्छन्। कस्को बच्चा को बाउ त कि भगवानलाइ कि आमालाइ मात्र थाहा हुन्छ।" रमेशले यसरी भन्यो उसलाइ सबै केटिहरु प्रति बित्रीस्ना छ।
सार्थकको मन चिसो भयो। हो त? जुनाको सम्बन्ध उ बाहेक अरु कसैसङ थिएन भन्ने के थाहा? त्रिस्ना अरु कसैकी पनि छोरी हुन सक्छे नि। बेकारमा भाबनामा बहकिएर। सार्थकले फेरि मन बुझाउने कारण पायो। तर उसले त नागरिकता बनाउने भनिसकेको छ। अब बनाउदिन भन्न पनि अप्ठ्यारो। ल यदि अरुकै छोरी रैछे भने पनि एउटा पुण्यको काम त गर्यो नि उसले जिन्दगीमा। "आ होस्!" मनमनै सोच्यो उसले।
"जे भए पनि मै कहाँ आए, गरिब दुखीको मद्दत गर्नै पर्यो नि।" सार्थकले त्यस्तो भन्दा त्रिस्नाका अघि देखिएका सजल आँखा फेरि भरिए जस्तो लाग्यो कता कता।
"हो! आजकाल त छापामार पनि हुन सक्छन्। कसैसङ रिसइबि लिनु ठिक छैन। मान्छे मार्न गार्हो पनि छैन।" रमेशले कतै पढेको समाचार लाइ आधार बनायो।
"जे सुकै होस्। काम सकेपछि कोइ न कोइ।" सार्थकले सहज तरिकाले भन्यो, तैपनि उसको मन कतै भारी नैं थियो।
"सम्पत्ति पनि दाबि गर्न आउला नि फेरि!" रमेशले डर देखायो।
"मैले पहिले भनिसके म एउटा सिन्का पनि दिन सक्दिन भनेर।" सार्थकलाइ थाहा थियो उसको सम्पत्तिमाथि त्यति सजिलै हक दाबि गर्न कसैले सक्दैन।
केहि बेर पछि रमेश र सार्थक अफिसबाट हिँडे। घर पुग्दा श्रेया र समिर अलि गम्भिर थिए त्यो दिन, शायद होमवर्क धेरै थियो उनिहरुको। माहिली भान्छामा काम गरिरहेकी थिए, उसको लोग्नेको पहिलो स्वास्नी र बच्चाले के गरे, के गरेन कथा सुन्न बाँकी थियो। आभा आफ्नै धुनमा कोठा मिलाँउदै थी, उसले त सार्थक आएको पनि देखिन। बेलुकीको खाना खाँदा सबै जम्मा भए फेरि, श्रेया र समिरको गन्थन शुरु भयो। आभा त तौलेरै बोल्थी, बोल्नु जस्तो गार्हो केहि छैन जस्तो गरी। सार्थक सुन्नमा ब्यस्त थियो। माहिली दिदीले सार्थकलाइ देख्नासाथै "नमस्ते" गरी। सोधनै पर्यो हालखबर माहिलीको। उ पाँच दिन पछिमात्र काममा आएकी थी।
"माहिली, के छ त हालखबर?" सार्थकले औपचारिकताको लागि सोध्यो, त्यो बिषय श्रेयाको अगाडि उप्काउन ठिक थिएन।
"छोरीको जन्म हारेको कर्म हजुर! त्यो पापीले नछोड्ने भन्छ। जेठिलाइ नि नछोड्ने रे मलाइ पनि छोड्न मान्दैन। छोरा छोरीको लागि पनि सम्झौता गर्नु पर्यो हजुर।" माहिलीले एकै सासमा भनी।
"त्यस्तो नि हुन्छ कहिँ? तपाइले छोडे भइ हाल्यो नि। तपाइँ आफै काम गर्नु हुन्छ, कमाउन सकि हाल्नु हुन्छ। किन त्यस्तो धोखा दिने लोग्ने सङ बस्नु पार्यो?" श्रेयाले तुरुन्तै प्रतिक्रिया दिइ।
"मैले त्यहि भनेको हो। तर उता नि बच्चा छ रे, त्यही बच्चाको लागि पनि छोड्नु मिल्दैन रे मैँया। म मात्र एक्लो ज्यान भएको भए त उहिले छोड्थें।" आफ्नो बिबशता देखाइ माहिलीले।
"दुबैलाइ राम्ररी हेर्छ भने ठिकै छ नि त किन सम्बन्ध बिच्छेद गर्नु पर्यो त यो महगीमा। दुबैलाइ घाटा हुने गरी।" समिरले पनि आफ्नो राय ब्यक्त गर्यो।
"केटा मान्छेको सपोर्ट त गरि हाल्छ नि केटाहरु।" श्रेयाले भनि।
"बाबा! तपाइ भन्नुस त! के यो केटिहरु प्रति अन्याय होइन र? पहिलो स्वास्नी, अझ बच्चा पनि हुँदा हुँदै अर्को बिहे गर्नु?" श्रेयाले अचानक सार्थकलाइ प्रश्न गरि।
"कहिले कहिँ त्यस्तो हुन सक्छ छोरी। तिमी अलि बढी नैं अरुको मामिलामा चासो राख्न थालेको छौ। बाबा दिनभरि बिभिन्न टेन्सनबाट घर फर्किनु हुन्छ। के के प्रश्न सोधेर त्यसरी दुख नदेउ बाबालाइ!" आभाले बिचैमा सार्थकको बचाव गरि। सार्थक छक्क पर्यो। कहिले केहि नबोल्ने मान्छे, आभा आज सार्थकको पक्षमा बोलिरहेकी थिइ। सार्थकलाइ एउटा जटिल घडीबाट तार्दै थिइ।
"मामुलाइ त मैले बोलेको केहि पनि राम्रो लाग्दैन। भाइको कुरा मात्र ठिक लाग्छ।" भन्दै श्रेया रिसाँउदै उठी।
"आफ्नो आमासङ बोल्ने तरिका त्यही तिम्रो?" सार्थकले श्रेयालाइ हप्कायो।
"सरी मामु!" भन्दै कालो मुख लगाएर गइ उ आफ्नो कोठातिर। समिर पनि लुसुक्क उसकै पछि पछि लाग्यो।
बाताबरण तनाबग्रस्त हुँदै गएकोले माहिली पनि आफ्नो काम खुरु खुरु गर्न थाली। खाना खाइसके पछि सार्थकले आभालाइ सोध्यो।
"तिम्रो अहिले केहि काम छ?"
"भोलिको एउटा प्रिजेन्टसनमा एक्चोटि हेर्नुछ।" आभाले उसलाइ नहेरी भनी।
"के म तिमिसङ केहि कुरा गर्न सक्छु?" सार्थकले अरु कसैलाइ सोधे झैं सोध्यो।
"जरुरी कुरा हो?" आभाले सोधी।
"त्यस्तै छ। तिमी एक्छिनपछि माथि कौसिमा आउन सक्छौ?" सार्थकको प्रश्न अनुरोध जस्तो थियो।
"हुन्छ।" आभामा कौतुहुलता थियो।
सार्थक कौसिमा बसेर कसरी भुमिका बाँध्ने सोच्दै थियो। उ आभालाइ त्रिस्नाको बारेमा भन्न चाहन्थ्यो। तर कसरी भन्ने उसलाइ थाहा थिएन। आभाले श्रेयाको प्रश्नबाट उसलाइ बचाएको देख्दा शायद त्रिस्नाको कुरा पनि बुझ्छे कि भन्ने आशा जागेको थियो उसमा। यदि उसले आभालाइ मात्र सम्झाउन सके त मनको बोझ हलुको हुने थियो र पछि केहि गरि अरु कोहि तेस्रो ब्यक्तिको मुखबाट सुन्नु भन्दा त अहिले नैं भनेको राम्रो। नागरिकता मात्र बनाउने हो, अरु केहि टेन्सन छैन। यति मात्र बुझाउन जरुरी लाग्यो उसलाइ। उसको हातमा व्हिस्किको पेग थियो, उ शब्दहरु खोज्दै थियो, बाक्य संयोजन गर्दै थियो, आभा आइपुगी।
"मलाइ अर्को एउटा पनि काम आयो। त्यसैले म धेरै बेर कुरा गर्न भ्याँदिन होला।" आभाले आउना पाको छैन जानै हतार जस्तो गरी भनी।
"के काम?" सार्थकले सोध्यो।
"अर्को एक जनाको पनि प्रिजेन्टेसन बनाउनु पर्नि भयो। भोलि नैं चाहिन्छ रे। " आभाले भनी।
"तिमी साँच्चै स्मार्ट छौ।" सार्थकले प्रसंशा गर्यो। आभा कम्पनि चलाइरहेकी थिइ, ब्यबस्थापनमा डीग्री गरेकी थिइ। उसको कामको प्रंसशा नगर्ने मानिस कम नैं हुन्थे।
"तिमी के कुरा गर्ने भन्दै थियौ नि?" आभाले सम्झाइ।
"अँ, माहिलीको कुरा दुख लाग्दो लाग्यो। तिमीले मलाइ श्रेयाको प्रश्नबाट बचायौ, त्यसको लागि पनि धन्यबाद!" अझै शुरु गर्न गार्हो भयो सार्थकलाइ।
"म सङ धेरै समय छैन।" आभालाइ शंका लाग्न थाल्यो हुन सक्ने वा हुन नसक्ने संभाबनाहरुको।
सार्थकलाइ अचम्म लाग्यो, उ आफ्नै स्वास्नीसङ कुरा गर्ने समय पनि मिलाउन सक्दैन। आभालाइ हतार छ, सार्थक हतारमा त्यस्तो गम्भिर कुरा गर्न सक्दैन। त्रिस्ना सामान्य कुरा होइन। उसले त्यो बारे कुरा गर्न उचित ठानेन।
"तिमीसङ कुरा गर्न नपाएको धेरै दिन भएको थ्यो, यसै कुरा गर्ने बहानामा तिम्रो अनुहार हेर्न मन लाग्यो।" सार्थकले कुरा बङायो।
"त्यसो भए अहिले लाइ माफ गर। मलाइ प्रिजेन्टेसनको टेन्सन छ। पछि कुनै समय मिलाएर तिम्रो अनुहार हेरुला।" उठी, सार्थकले उठ्दै गरेकी आभाको हात समायो, उ अडि, "तिम्रो फुर्सद छैन, भैगो जाउ।" भन्दै त्यसपछि हात छोडिदियो। उ मुस्काँउदै गइ। सार्थकलाइ धेरै पछि आभाको स्पर्शले रोमान्चित गर्यो, शायद आभालाइ पनि।
"तिम्रो ब्यक्तिगत जिबनमा मेरो कुनै हस्तक्षेप छैन।" जाँदाजाँदै आभाले फेरि उहि पुरानो कुरा दोहोर्याइ।
सार्थकले बुझ्न सकेन के आभाले उसको मनको कुरा नभने पनि थाह पाइ? कि अन्जानमा नैं जे भन्नु पर्ने भनी? तर उसलाइ आज आभा सबै भन्दा मिल्ने साथी जस्तो लागी। मनको कुरा नभने पनि बुझ्न सक्ने आफ्नै साथी।
क्रमश: