[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 140300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 11-02-06 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok ji,

I have been a silent reader of your story .It is really inspiring. Please continue to write.
 
Posted on 11-02-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
OK jee,
तपाइको कथा पढ्दा नेपाली गाँउलेजनजीवनको यथार्थताको झ-झल्को आउछ। धेरै संघर्सशील हुनुहुदोरेछ ।तर यो खालि कथा(कल्पना) मात्रै त होला नि हैनर्?

अलिक छिटो छिटो टाँस्ने गर्नुस्न्........ कस्तो महिनौ कुर्नु पर्ने??!! :)
 
Posted on 11-02-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
OK jee,
तपाईं को कथा धरै नै राम्रो लाग्यो ।

तपाइको कथा पढ्दा नेपाली गाँउलेजनजीवनको यथार्थताको झ-झल्को आउछ। धेरै संघर्सशील हुनुहुदोरेछ ।तर यो खालि कथा(कल्पना) मात्रै त होला नि हैनर्?
 
Posted on 11-02-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

interestingggggggggggg
 
Posted on 11-02-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ४०

बस्तै जाँदा हाम्रो घनिष्टता झन् बढ्दै गयो, सबै कुराहरु सेअर गर्न थाल्यौँ। उस्का सबै कुरा मलाई भन्यो। मैले पनि सबैकुरा भनेँ। ऊ पनि एसएलसी थर्ड डिभिजनमा पास गरेर क्याम्पस पढ्न भनेर काठमाण्डौ तिर हानिएको रहेछ। केही सीप नलागेपछि उन कारखानामा काम गर्न थालेछ। हामी दुईमा निकै समानता थिए। दुबैको इच्छा क्याम्पस पढ्ने थियो। दुबैको आर्थिक अवस्था कमजोर थियो। हाम्रा भावनाहरु मिल्थे, सोचाईहरु मिल्थे। दुबैले दिनको ५ किलो सम्म ऊन कात्थ्यौँ। एक-किलोको १२ रुपैंयाका दरले पैसा पाएपछि त हाम्रो दैनिक ६०-६० रुपैंया हुन थाल्यो।

२०४८ साल माघ महिनामा दुबैको सरसल्लाहले आरआर क्याम्पसमा भर्ना ग-यौँ, रात्रि क्लासमा। “बसभाडा दुईदुई रुपैंया खर्च गर्नु भन्दा एकमुठो साग किनेर लानु पाए मज्जाले भात खान पुग्छ” भन्दै हामी हिडेरै जान्थ्यौँ क्याम्पस र हिँडेरै फर्कन्थ्यौँ क्याम्पसबाट पनि। चुच्चेपाटी पुग्ने छोटो बाटो शंकरदेव क्याम्पस- डिल्लिबजार पिपलबोट- कालोपुल- सिफलचौर- मित्रपार्क- चाबहिल हुँदै चुच्चेपाटी पुग्थ्यौँ। क्याम्पसबाट कोठा पुग्दा रातको १० भन्दा बढी बज्थ्यो, त्यसपछि भात पकाएर खान्थ्यौँ। फेरि बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म कारखानामा ऊन कात्थ्यौँ। सानैदेखी गणित बिषय सजिलो लाग्ने भएकोले मैले गणित नै मेजर लिएर पढ्न थालेँ, साथीले चाहिँ ईकोनोमिक्स पढ्यो। माघ महिना यसैगरी बित्यो।

फागुन महिनाको पहिलो हप्तामा गणित पढाउने खनाल सरले डिफिरेनसियल क्यालकुलसको एउटा हिसाब सल्भ गर्न अल्मलिनु भयो। मैले त्यो हिसाब अघिल्लो दिन बेलुका नै आफैंले सल्भ गरिसकेको थिएँ। उहाँ निकैबेर अल्मलिएपछि मैले त्यो हिसाब गरेर सरलाई देखाएँ। त्यसपछि उहाँले मेरो बारेमा क्लासमै सोध्नु भयो, एसएलसीको प्रतिशत र मैले आर्ट्स पढ्नको कारण। मैले सबैकुरा बताएँ। खनाल सरले मलाई कि ईञ्जिनियरीङ कि डाक्टर पढ्न सल्लाह दिनुभयो।

उहाँले दिएको सल्लाहकै लहैलहैमा चैत्र महिनामा पुल्चोक क्याम्पसमा ईन्ट्रान्स दिएँ। गणित र अंग्रेजीको प्रबेशपरिक्षा दिनुपर्ने रहेछ। गणित त सजिलै लाग्यो, तर अंग्रेजी चाहिँ अति गाह्रो। अंग्रजीमा पनि पास भएछुँ, नाम पनि निक्लियो। भर्ना शुल्क रु ५६२।५० लाग्ने रहेछ। आफूसँग त्यतिखेर ३०० रुपैंया मात्र थियो, ऊन कातेर जोगाएको पैसा भाइबैनीलाई पढ्ने खर्च पठाउनलाई। भाइबैनीलाई पनि नपठाईकन, अरु ३०० रुपैंया मोहनसँग मागेर पुल्चोक क्याम्पसमा भर्ना गरेँ। त्यतिबेलासम्म मलाई “आरआर क्याम्पसमा जस्तै ऊन कातेर पढ्छु पुल्चोकमा पनि” भन्ने बिचार थियो। ईञ्जिनियरिंग पढ्न गा-हो हुन्छ भन्ने चाहिँ थाहा थियो, तर धेरै खर्च लाग्छ भन्ने कुरा चाहिँ थाहै थिएन।

२०४९ साल जेठ महिनाबाट पढाई शुरु भयो पुल्चोकमा। शनिबार, आईतबार र बिहानबेलुका ऊन कात्दै दिउसो पुल्चोक क्याम्पस जान थाले। कक्षाकोठाको सबभन्दा पछि गएर बस्थेँ। सबै विषय अंग्रेजीमा पढाई हुन्थ्यो। शुरुशुरुमा त मैले केही पनि बुझिन। टिस्केल किन्ने पैसा नहुँदा पहिलो ड्रईङ बुझाउन पनि पाईन। एकहप्तासम्म हातिछाप चप्पलमा र टोपीलाएर जाँदा सबैले हेपे। मलाई देख्ने बितिक्कै “उ टोपी आयो” भन्थे। मेरो नाम नै “टोपी” भैसकेको थियो, सबैले मलाई “टोपी” भनेर नै बोलाउँथे।

पहिलो हप्ताको बिहिबार दोस्रो पिरियड मेन्सुरेसनको थियो। सर आउनु भएन। हामी सबै क्लासमा बसिरहेका थियौँ। निकैबेर सम्म पनि सर नआएपछि क्लासमा हल्ला हुन थाल्यो।
“ओई टोपी, तेरो टोपी त क्या भकुन्डो बनार खेल्नु जस्तो छ, ले न यार” एउटा केटाले जिस्कायो मतिर हेर्दै।

म भन्दा अगाडि बसेको केटो म तिर फर्कियो र मैले लगाईरहेको टोपीलाई हातले हिर्काएर उडाईदियो। अर्को केटाले टोपीलाई लात्तले किक हान्यो र अर्को कुनामा पु-याईदियो। टोपी धुलोमा झ-यो। अर्को केटाले धुलोमै एकलात्ती हान्यो र हेर्नै नहुने बनाईदियो। म गएर टोपी टिपेँ, धुलो टक्टकाएँ, फेरि गएर पछिल्लो सीटमा बसेँ।

सबै केटाहरु “पढाई नहुने भो आज” भनेर बाहिर निस्के। म चाहिँ क्लासमै बसेर किताब पल्टाएर हेर्न थालेँ।

हाम्रो सेक्सनमा एकजना केटी थिई, पुष्पा। ४७ जना केटाको हुलमा केटी ऊ एकजना मात्र थिई। सबैकेटाहरु बाहिर हिडिसक्ता पनि ऊ चाहिँ त्यहि बसिरहेकी थिई, त्यो दिन।

“कस्ता बदमास है केटाहरु, अलिकति पनि सोमत छैन” पुष्पाले मप्रति सहानुभुति राखि। एकोहोरो किताबमै मन दिईरहेको म झसंग भएँ। ऊ आएर म भन्दा ठीक अगाडिको बेञ्चमा बसि।

मैले केही पनि बोलिन।

“तपाईँको घर कहाँ हो?” उसले फेरि सोधि।

“ओखल्ढुंगा” मैले छोटो उत्तर दिएँ “अनि तपाईँको नि?”

“मेरो त्रिशुलि हो। तर अहिले चाहिँ काठमाण्डौमै छ।”

“तपाईँको नाम ओम हैन?”

“हो, किन?”

“त्यसै। यसो चिनचान गरौँ भनेर नि”

म चुपै लागेँ। म किताबमै हेरेर बोलीरहेको थिएँ, त्यसबेलासम्म।

“तपाईँ माईन्ड गर्नु हुन्न भने, म एउटा कुरा भन्छु है?” पुष्पा फेरि बोली।

“गर्दिन। भन्नुस् न के कुरा हो?” मैले पुलुक्क उसको अनुहारमा हेरेँ।

“यो काठमाण्डौका केटाहरु छुच्चा छन्। टोपी-चप्पल लगाको मान्छेलाई जिस्काएर हैरान पार्छन्। तपाईँ पनि अब टोपी र चप्पल लगाउन छोड्दिनुस्, अनि हेप्दैनन् के”

“टोपी नलगाउँदा त मेरो टाउको दुख्छ” मैले आफ्नो कुरा गरेँ।

“एक-दुई दिन हो, पछि त बानी परिहालिन्छ नि। एकपटक हजामकोमा गएर कपाल काट्नुस्, अनि टोपी लगाउन छोड्दिनुस्, अनि त कसैले हेप्दैन” उसले भनि।

भोलिपल्ट चुच्चेपाटीको हजाम पसलमा रु ७ तिरेर कपाल काटेँ। एकहप्तासम्म टाउको दुख्यो, त्यसपछि भने बानी पर्दै गएँ।

पुष्पा र म निकै मिल्न थाल्यौँ। म पनि गाउँलेपाराबाट शहरीपनामा परिवर्तन हुँदै गएँ, मन, सोचाई र भावनामा नभएपनि बाहिरी पहिरन र बोलीचालीमा। पुष्पाले नै सिकाई, मलाई शहरिया हुन। समयबित्दै जाँदा अरु साथीहरुले पनि जिस्काउन छाडे, टोपी भन्न छाडे।

पहिलो पटकको म्याथको एसिस्टमन्टमा पुष्पा र म सँगै बसेर परिक्षा दियौँ। म म्याथमा अलिक ट्यालेन्ट भकोले उसले मेरो सारि। पछि रिजल्ट हुँदा त सरले उसलाई २० दिनुभएछ, मलाई चाहिँ पुष्पाको सारेको भनेर १८। सायद, पुष्पा बोर्डिङ पढेर आकी, म चाँही गाउँको झारेझुरे स्कुल पढेर आको भनेर होला। पुष्पाले म सरलाई “तपाईँको मैले सारेको भन्छु” भन्दै थिई, तर मैले नि भन्न दिईन। साथीको दोस्ती पुष्पासँग ओभरसियर सक्ता सम्म चल्यो। बिईमा उस्को नाम ननिस्किएपछि उसँग मेरो भेट कहिल्यै भएन।

साझाल्याण्ड,
१५ कार्तिक २०६३
 
Posted on 11-02-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very interesting keep it uppppppppppp
 
Posted on 11-02-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो छुच्चा केटाहरु!!!
 
Posted on 11-02-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo katha lekhdai garnu hai......maile agadi dekhi sappai padheko chu
 
Posted on 11-02-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok,

enjoyed reading it. Waiting for the more....

Where r u now? Did you start your job?
 
Posted on 11-02-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you all reading this lengthy story. Lets hope it ends somewhere.

FMN jee,
I started my JOB career from this fall. It's going smoothly and my office needs many more stuffs to fill in. My graduate books are not enough to fill even two shelves, leave another three. I am really confused what to do and how to do because nobody is helping me as when I was a student.

OK
 
Posted on 11-04-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok ji,

Where are you working?

waiting for the next episode
 
Posted on 11-28-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la okjee maile ta dhago lai mathi taneko matra ho, kathat agaid badhaune jimma ta tapaikai ho ni!
 
Posted on 11-28-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ta????????/
 
Posted on 11-28-06 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबासीहरु,

ब्यस्थताको कारणले मेरो यो लामो आत्मकथा “मञ्जु, मलाई माफ गर है” सक्न धेरै समय लाग्यो र पाठकहरुले पनि लामो समयसम्म कुर्नु प-यो। समयमै पस्कन नसकेकोमा मलाई दुख लागेको छ। आज मैले सबै कथालाई एकैपटक पेष्ट गर्दैछु। कथा लामो भएपनि डिटेल्सहरु अझै अपूर्ण छन्। यस कुरामा म सबैलाई अग्रिम सचेत गराउन चाहन्छु। समयले साथ दिएमा अन्य कथाहरुका साथमा म फेरी आउनेछु।
-ओके

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २

खण्ड ४१
२०४९ साल साउन महिनामा मेरो पुल्चोक होस्टेलमा नाम निस्कियो र होस्टलमै बस्न थालेँ। दशैँमा पहिलो सेमेस्टरको परीक्षा दिएर घर गएँ। परीक्षा राम्रो भएन। साथीहरुसँग पैसा सापटी लिएको थिएँ, पुल्चोकमा बस्ता एकहजार रुपैंया जति। पाँचहजार पाँचसयमा अलिकति खरबारी बेचेँ, साथीहरुको पैसा दिन र भाइ-बैनीलाई रामपुरमा बस्ता कोठाभाडा तिर्न। भाइबैनीलाई लाग्ने खर्च भनेर आमालाई पच्चिससय रुपैँया छोडेँ र तीनहजार रुपैंया आफैँले राखेँ। मञ्जुको घरमा पनि गएँ एकदुईपटक त्यो दशैँको विदामा। त्यसै वर्षको एसएलसी परीक्षामा मञ्जुले पनि सेकेण्ड डिभिजनमा पास गरिन्। अब उनी पनि काठमाण्डौ जाने रे। तिहारपछि अन्य साथीहरुसँगै मञ्जु र म काठमाण्डौ आयौँ। मञ्जु उनकै मामाको घरमा बसेर पढ्न थालिन्। मञ्जुसँग फोनमा कुरा भैरहन्थ्यो। शुरुशुरुमा त म पनि गर्थेँ मञ्जुलाई फोन, तर केही समयपछि नै मञ्जुको माईजुले निकै चियोचर्चो गर्न थाल्नु भयो र मैले फोन गर्न छोडेँ। उनले नै फोन गर्थिन् मलाई। एकबर्ष अगिनै काठमाण्डौ आएकोले मलाई काठमाण्डौको बारेमा केही ज्ञान थियो। मञ्जुलाई काठमाण्डौ पनि घुमाएँ, आफूले जानेको र देखेको ठाँउमा। टाढाटाढा पनि घुम्न गयौँ। पुष महिनामा पहिलो सेमेष्टरको रीजल्ट पनि भयो। म बल्लबल्ल पास भएँछु। १००० रुपैँया स्कलरसीप पनि पाईँन।

दिनहरु बित्तै जाँदा घरबाट ल्याएको पैसा पनि सकिँदै गयो। पुल्चोकमा पढ्न नसक्ने भएँ। आफूले सक्ने र पाउने एक मात्र उपाय भनेको अब फेरि उन कारखानामै फर्केर काम गर्नु थियो। पुस माघको एक महिने जाडो बिदा भयो। मञ्जु उनकै गाउँकी साथीसँग घर गईन्, त्यस बर्षको जाडो बिदामा। कहिल्यै पनि घर नछोडेकी उनी होमसिक जस्तो भएकी थिईन्। म चाहिँ पहिलेकै ठाँउमा गएर उन कातेँ, त्यहि पहिलाको साथीसँगै बसेर जाडोबिदा भरी। अरु बेला पनि त्यो साथीको कोठामा आउनेजाने गरिरहन्थेँ। त्यो एक महिनामा ६०० रुपैँया कमाएँछु। एक महिना अरु बाँच्न सक्ने भएँ। जेनतेन चैत्र महिनासम्मलाई काम चल्यो। चैत्र महिनामा भएको सेकेण्ड सेमेस्टरको परिक्षा पनि सकियो।

२०५० साल बैशाख १२ गते शनिवार मञ्जु र म घुम्न भनेर नगरकोट गयौँ। कुराकुरैमा मञ्जुले अकस्मात सोधिन् “खर्च कसरी चलाउनु भैराको छ है आजकाल। कति गा-हो भा होला है!” मैले केहि पनि भनिन। उनले उयाए निकालिन् “मलाई ट्युशन पढाउनुस्, मामालाई भनेर पैसा दिन्छु नि”

“तिमीसँग पनि म पैसा लिएर ट्युशन पढाउँछु त? तिमीसँग पनि ट्युशनको पैसा लिएँ भने त मलाई पाप पो लाग्छ”

“हेर्नुस्, मैले दिने पैसा मेरो हैन नि, मामाको पो त। त्यो परराष्ट्रमन्त्रालयमा दशजनासँग घुस खाएर थुपारेको पैसा पढ्नमा खर्च गर्दा पनि पाप लाग्छ त?” उनले प्रस्ट्याईन्।

कुरा हुँदै गर्दा उनले साथीहरु खोज्ने भईन् ट्युशन पढ्ने। हामी धेरैबेर नगरकोट घुम्यौँ। बेलुका नयाँबानेश्वरमा छुट्टिएर उनी पुरानो बानेश्वरतिर लागिन्, म पुल्चोकतिर।

दुईहप्ता पछि मञ्जुले फोन गरिन् मलाई पुल्चोकमा। उनले पद्मकम्या क्याम्पसमा सँगै पढ्ने अरु दुईजना साथीहरु पनि खोजिछिन्, मेनुका र मनीषा। मलाई पुल्चोक क्याम्पसको छात्रबासबाट नजिक हुनेगरी मनीषाको घर कुपन्डोलमा नै पढ्ने कुरा मिलाएछन्।

२०५० साल जेठ २५ गते सोमवारबाट म मनीषाको घरमा मञ्जु, मेनुका र मनीषालाई आईए प्रथम बर्षको मेजर म्याथ ट्युशन पढाउन थालेँ। पुल्चोक क्याम्पसकै ओभरसियर पहिलो र दोस्रो सेमेष्टरमा आफैंले पढेको भएर ट्युशन पढाउन पनि गा-हो भएन। आफैंले पढ्दा बनाएका नोटहरु नै काम लागे। नपढेका पाठहरु गाईडको सहायताले पढाएँ। मेनुका र मनीषाले रु २०० सयका दरले पैसा दिए। मैले जति नै नमान्दा नमान्दै पनि मञ्जुले पनि पैसा दिईन्, ३०० सय रुपैंया। पहिलो महिनामै मेरो रु ७०० भयो ट्युशनबाट। एक महिना पछि अरु २ जना केटीहरु पनि थपिए, हेमा र बसन्ती। जम्माजम्मी महिनाको १००० रुपैंया हुनथाल्यो, ट्युशनबाट। करिव ६०० सय रुपैंयाले मेरो महिना बित्थ्यो। ओभरसियर प्रथम बर्ष दोस्रो सेमेस्टर देखि नै मेरो रीजल्ट केहि राम्रो हुनथाल्यो र ६ महिनाको रु १००० छात्रबृति पनि पाउन थालेँ। क्याम्पसमा तिर्नुपर्ने फी: पनि यसैबाट तिर्न पुग्यो। बचेको पैसा आमा र भाइबैनीहरुलाई घर पठाउन थालेँ। म काठमाण्डौ आँउदा मेरो मनमा गर्छु भनेको कुरा आज करीव डेड बर्षपछि पूरा भयो, मञ्जुको सहयोगले। मञ्जुसँग पनि सधैंजसो भेट हुन थाल्यो। ट्युशनको समयमा पनि अरु साथीहरु भन्दा मञ्जु पहिले नै आउँथिन्।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४२

२०५० साल असोज २० गते वुधवार। तेस्रो सेमेस्टरको परीक्षा सकाएर म दशैंमा घर जाने तयारीमा थिएँ। मञ्जु लगाएत अन्य साथीहरुसँग भरेबेलुकीको बसमा बाटो लाग्ने योजना थियो। होस्टेलको छात्रबासमा एकाबिहानै बिहानको निद्रा राम्ररी पनि नखुल्दै पालेले बोलायो “ओम खनाल, फोन आको छ”। हतारहतार एउटा गन्जी र हाफपईन्ट मात्र लगाएर फोन उठाउन गएँ।

“हेलो, को बोल्नु भा होला?”

“ओम सर बोल्नु भा हो?” फोनमा केटीको आवाज थियो, तर मलाई चाहिँ मञ्जुको जस्तो लागेन। फेरि मञ्जुले मलाई फोनगर्दा सर भनेर कहिले पनि भन्दिनथिन्, साथीहरुको अगाडि मात्र सर भनेर सम्बोधन गर्थिन्।

“मैले त चिनिननी। को बोल्नु भाको होला?” मैले सोधेँ।

“सर म मेनुका। ट्युशन पढ्ने केटी, चिन्नु भयो त?”

“ए मेनुका, के छ खबर? किन फोन गरेको यति बिहानै?” मैले सोधेँ।

उनी अक्मकाईन्। झट्ट केही पनि भनिनन्।

“तपाईँ कहिले पहाडबाट फर्कनुहुन्छ?” केही बेर पछि भनिन्।

“तिहार पछि” मैले छोटो उत्तर दिएँ।

“मञ्जु पनि संगै जाने हो?”

“हो”

“तपाईँ र मञ्जुको गाऊँ पनि एउटै हो सर?”

“हैन। मञ्जुको गाउँबाट मेरो गाउँ ३-४ घन्टा हिड्नु पर्छ।

“बाफ रे ३-४ घण्टा, त्यो पनि पैदल। टाढा रैछ नि त? कहिले चिन्नु भको त मञ्जुलाई? काठमाण्डौमै हो?”

“हैन, उनी म भन्दा १ बर्ष जुनियर हुन् स्कुलमा। हामीले एउटै स्कुलमा पढेका”

“ए, सर अनि हजुर फर्कनु भएपछि म फोन गर्छु नि। राम्ररी जानुस् है! शुभ-यात्रा, ह्याप्पी विजया दशमी २०५०” उनले कुरा टुंगाईन्।

“ल तिमीलाई पनि ह्याप्पी दशैँ” मैले पनि मेरो कर्तब्य पूरा गरेँ र फोन राखिदिएँ।

दिउँसो रत्नपार्कमा गएर आमा र भाइबैनीलाई केही कपडा, डटपेन र कपी किने। त्यसबेला मैले किनेर लगिदिएको जाडो महिनामा ओढ्न हुने बाक्लो एउटा ‌ऊनीको ओढ्ने मेरो जीवनमा आफ्नै पौरखले किनेर लगिदिएको पहिलो कपडा थियो आमालाई। आजसम्म पनि त्यो ओढ्नेको कुरा आमाले गरिरहनुहुन्छ, कहिलेकाहीँ त फोनैमा पनि।

तिहारपछि फर्केर पनि पहिलेकै कामहरु यथावत रहे। पुल्चोकमा ५ बजे क्लास सकेर ट्युशन पढाउन कुपन्डोल जान्थेँ। एकहप्ता पछिको शुक्रबार बेलुका फेरि मेनुकाले फोन गरिन्। उनले भोलि शनिबार म उनको घर अनामनगरमा बिहानको खाना खानेगरी बाबाले बोलाउनु भको भनेर पनि भनिन्। खासै मेरो केही काम पनि थिएन त्यो शनिबार। चौथो सेमेस्टर भर्खर शुरु भकोले पढाईको पनि त्यति चाप थिएन।

भोलिपल्ट नौ बजे म बबरमहलको यातायात मन्त्रालयको गेटमा पुगेँ। मेनुका मलाई लिन आईन्। म उनको पछिपछि लागेँ। उनले मलाई चिटिक्क परेको चारतले घरमा पु-याईन्। कम्पाउण्डको गेटमा पुग्ने बितिक्कै कानै खाने गरी कुकुर भुक्यो। मेनुकाले चुपलगाईन्। भित्र छिर्ने बितिक्कै साईडको ग्यारेजमा दुईवटा गाडी पार्क गरेका रहेछन्। छेवैको बगैंचामा तिहारमा जस्तै झिलिमिली फूलेका फूलहरुमा एकजना बुढामान्छे पानी हाल्दै रहेछन्। म चाहिँ मेनुकाले जता लग्छिन् त्यतै गएँ। घरभित्र छिर्ने ढोकाको छेउमा नै आफूले बाहिर लगाएका जुत्ता खोलेर भित्र लगाउने स्लिपर लगाउनु पर्ने रहेछ। मलाई भने कस्तो असजिलो लाग्यो। १,२ दिनदेखि मोजा धोएकै थिईन। मोजाको अघिल्तिर खुट्टाको बुढिऔलो निस्किएको थियो फाटेर। मेनुकाबाट लुकाउँदै मैले मोजा पनि खोलेँ।

स्लिपर लगाएर हामी भित्र छि-यौँ। मेनुकाले मलाई उनको घरको परिचय गराईन्। हामी पुग्दा मेनुकाका बाबा छतमा हुनुहुँदो रहेछ। मेनुकाले मलाई पनि सिधै छततिर लिएर गईन्।

“बाबा, उहाँ ओम सर। हामीलाई म्याथको ट्युशन पढाउने” मेनुकाले मतिर आँखाको ईसाराले देखाउँदै भनिन्। मैले नमस्कार गरेँ।

“नमस्कार, नमस्कार। तिमीहरु तल बैठक कोठामा गएर बस्तै गर। मेनुकाकी आमा बाहिर पसलतिर गाकी छ क्यारे। हिजो शिवेले राम्रो मासु किनेर ल्याएन रे। आज आफैं गाकी छ” मेनुकाको बाबाले मेरो अनुहारतिर गहिरिएर निहाल्नु भो अनि मेनुकातिर फर्केर भन्नुभो।

एकछिन छतबाट वरिपरिका दृष्यहरु हेरेपछि मेनुका र म तेस्रो तलामा भएको सिटिङ रुममा गयौँ। म छेवैको सोफामा बसेँ। मेनुकाले रिमोटकन्ट्रोल लिँदै टिभिका च्यानलहरु फेर्न थालिन्। कहिले डिस्कभरी च्यानल, कहिले जिटीभी, कहिले जीसिनेमा हुँदै एम टीभीमा पुगेर उनले हातको रिमोट अगाडिको टीटेवलमा राखिन्। टीभिमा अंग्रेजी पपगित जस्तो बजिरहेको थियो। मैले केही पनि बुझिन। त्यतिखेरसम्म म हिन्दी पनि बुझ्दिनथेँ, अंग्रेजी गीतको कुरा त परै जावस। अगाडिको टेवलमा राखेको गोरखापत्र हातमा लिएर हेर्न थालेँ। मेनुकाको ममी फर्केपछि चिनजान भयो। सबैजना भएर खाना खायौँ। दिनभरि मेनुकाको घरमै कहिले गफ, कहिले टिभि हेरेर समय कटाएँ र बेलुका पुल्चोक होष्टेलमै फर्किएँ।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४३

२०५१ सालको दशैँ पछिबाट मेरो ओभरसियर अन्तिम सेमेस्टर (छैटौँ सेमेस्टर) को पढाई पनि शुरु भयो। मञ्जु र उनका साथीहरुको आईए दोस्रो बर्षको परीक्षा सकिएकोले त्यतिखेर ट्युशन पनि थिएन। परिक्षा पछि मञ्जु चाहिँ घर गईन्। त्यहि पहिला अलिअलि गरेर सेभ गरेको पैसाले नै काम चलाउँदै थिएँ। त्यो सेमेस्टर पनि सजिलै बित्यो।

भाइबैनीले पनि त्यसैबर्ष एसएलसी पनि पास गरे। बल्लबल्ल पास भएछन् दुवैजना। अब आफूचाहिँ ओभरसियरको जागिर खाएर भाइवैनीलाई क्याम्पस पढाउने योजना बनाएँ। निकै कर गरेपछि एकजना सरले पश्चिम नेपालको एक दुर्गम गाउँमा सडकको डिटेल सर्भेको काममा पठाउनु भयो असारको पहिलो हप्ता। सँगै पढेका साथीहरु बिईको प्रबेश परिक्षा तयारी गर्न लागे, म चाहिँ रोडको सर्भे गर्न पश्चिम नेपालतिर गएँ। २०५२ साल साउन १५ गते सोमवार म काठमाण्डौ फर्किएँ। पाटनढोका जाने २६ नम्वरको बस पुल्चोकको स्टपमा रोकिँदा गेटमा निकै भिड देखेँ। “आज, के भिड भएछ यहाँ, हेर्नु पो प-यो” भनेर त्यहिँ झरेँ। आज बिईको प्रवेश परिक्षाको फर्म भर्ने अन्तिम दिन रहेछ। मलाई ओभरसियरमा पढाउनु भएका सरहरुसँग भेट भयो। उहाँहरुले मलाई जबर्जस्ति भन्दा पनि हुन्छ ईण्ट्रान्सको फर्म भराउन लगाउनु भयो। मन नलागि नलागि ईन्ट्रान्स पनि दिएँ। मेरो नाम पनि मैले परिक्षा दिए जस्तै मन नलागि निस्किएछ, अन्तिमतिर। रीजल्ट हेरी सकेर बाहिर निस्कन लागेको बेलामा मेनुकासँग भेट भो। उनी साथीको रीजल्ट हेर्न आकि रे। साथिलाई डर लाग्यो रे रीजल्ट हेर्न।

“ल ओम सर बधाई छ, ईञ्जिनियरसाव भनौँ अब?” मेनुकाले खुशी प्रकट गरिन्।

“हेर मेनुका म त बिई पढ्दिन। ओभरसियरको जागिर खोजेर खान्छु” मैले मेरो कुरा गरेँ।

“किन सर, किन त्यसो भन्नुभको। मान्छे ईन्ट्रान्समा नाम निकाल्न कति दुख गर्छन्, ईञ्जिनियर पढ्न कति पैसा खर्च गर्छन्” उनले भनिन्।

“मेरो लागि यो ओभरसियर नै धेरै भो” मैले भनेँ।

“ल है त, म कोठातिर लागेँ” म पाटनढोकातिर हिँडे। मेनुका पनि बस चढ्न भनेर पाटनढोकैतिर लागिन्।
“चिया खाने हो?” मैले मेनुकासँग सोधेँ।

“हुन्छ नि” मेनुकाले पनि मानिन्।

पाटन ढोकाको लोकहित रेष्टुरेन्टमा बसेर चिया खायौँ। खै किन हो, मेनुकाले “बिई पढ्नुस् है सर” भनेर धेरैपल्ट भनिन्। हिड्ने बेलामा फेरि दोहोर्याईन् “सर, छिटो भर्ना गर्नुस् है”।

भर्ना गर्ने म्याद तीनदिन थियो। दुईदिन सम्म त मैले वास्तै गरिन। दोस्रो दिनको बेलुका भने मैले धेरै सोचेँ। भर्ना शुल्क १८०० रुपैंया लाग्थ्यो। त्यतिखेर मसँग त्यत्रो पैसा थिएन। मञ्जुसँग त्यत्रो एक्स्ट्रा पैसा हुने कुरा थिएन। सम्भावित पैसा माग्ने मानिस भनेको मेनुकाका बाबा मात्र हुनुहुन्थ्यो, तैपनि मलाई दिन मान्नु हुने नहुने पनि ग्यारेन्टी थिएन। एकपटक मेनुकासँग कुरा पो गर्नु पर्यो भन्ने विचार आयो। निकैवेरको सोचाईपछि मन दरो बनाएँ। बेलुका मेनुकाको घरमा फोन गरेँ। शुरुमा त मेनुकाका बाबासँग सिधै कुरा गर्ने मन थियो, तर त्यत्रो आँट जुटाउन सकिन। पहिले मेनुकासँग कुरा गर्नु प-यो अनि उनले के कस्तो रेस्पोन्स देखाउँदि रहिछिन्, त्यसपछि बाबासँग कुरा गर्छु भन्ने विचार गरेर फोन गरेँ।

“हेलो, मेनुका छिन् होला?”

“को बोल्नु भको?” मेनुकाकी ममीले सोध्नु भयो।

“म ओम बोलेको पुल्चोकबाट”।

“को ओम, मैले त चिनिननी’

“मेनुकाले मसँग ट्युशन पढ्थिन् नि”

“ए, ओमबाबू, एकछिन है त, म उनकै कोठामा फोन लगाईदिन्छु”

“हेलो” मेनुका बोलिन्।

“मेनुका म ओम बोलेको। के छ खबर?’

“ठीकै छ सर। अनि हजुरलाई कस्तो छ नि?”

“मलाई पनि ठीकै छ”

“अनि सर, भर्ना हुनुभो त?”

“छैन। भोलिसम्म छ म्याद”

“अनि किन नगर्नुभको त आजसम्म?”

“खै, गर्ने कि नगर्ने भनेर दोधारमा छु”

“त्यस्तो दोधारमा नहुनु त। भोलिबिहान १० बजे नै भर्ना गरिहाल्नुस् है” उनी अतालिईन्।

“खै गर्ने त भनेको तर…”

“किन तर सर, यस्तो कुरामा पनि अल्मलिएर हुन्छ त?”

“मेनुका, एउटा कुरा गरौँ कि भनेर फोन गरेको। खै गरौँ कि नगरौँ”

“के कुरा? गर्नुस् न”

“खै भनौँ कि नभनौँ”

“भन्नुस् न, के कुरा हो”

“मेनुका भर्ना गर्ने कि भनेर सोचेको, अहिले आर्थिक अवस्था राम्रो नभएर तिम्रो बाबासँग कुरा गर्ने भनेको, खै आँटै आएन। के गर्दा ठीक हुन्छ भनेर तिमीलाई फोन गरेको। भन्दा ठीक होला कि नहोला?”

“अनि यस्तो कुरा पनि भन्न गा-हो मानेर हुन्छ त। भन्नुस् कति जति चाहिने?”

“भर्ना फिस १८०० रुपैंया लाग्ने रहेछ”

“त्यति पैसा त मसँग पनि होला। भोलिबिहान साँढे नौ बजे तिर म पाटनढोकाको गेटमा आँउछु पैसा लिएर”

“थ्यांक्यु, मेनुका” म खुशी भएँ।

भोलिपल्ट बिहान पाटनढोकामा मेनुका म भन्दा पहिल्यै आएर बसिरहेकी रहिछिन्। दुबै सँगै गएर मेरो बिईको भर्ना ग-यौँ। डिनको अफिसको भूइँतलामा भर्ना गरेर हामी एकछिन छेवैको पार्कमा गएर बस्यौँ। उनले क्याम्पसको अर्को पट्टी पनि घुम्न चाहिन्। हामी नयाँ छात्रवास जाने ठाँउको स-सना सल्लाका रुखहरु भएको ठाँउमा गएर बस्यौँ र धेरैबेर गफ गरेर बितायौँ।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४४

२०५२ साल असोज महिनाबाट मेरो बिईको पढाई शुरु भयो। केही महिनाभित्र नै मैले फेरि होस्टेलमा बस्न पाएँ। ओभरसियर पढ्दाको जस्तो गा-हो भएन, बिई पढ्नचाहिँ। ट्युशन पनि पढाउनु परेन, ईञ्जिनियरींगको कामवाट नै आफूलाई चाहिनेजति खर्च जुटाउन जेनतेन पुग्यो। अलिअलि गरेर फुर्मासी गरेर अन्य साथीहरु जस्तै चाहिनेजति सबै टेष्टवुकहरु किन्न, नयाँ नयाँ कपडा फेर्न, हप्तैपिच्छे फिल्म हेर्न जान, पाटनढोकाको छ्याङ पसलमा गएर नियमित जस्तो जाँडरक्सी खान त के पुग्थ्यो र, तरपनि दुखजिलो पढ्न र आफैँले पकाएर खान खर्च टुमटुम हुन्थ्यो। भाइबैनी चाहिँ पढ्नै पाएनन्, दुबैजना गाउँमै खेति किसानी गरेर वसे, आमालाई काम सघाए।

दिनहरु वित्दै गए। मञ्जु र मेनुका पनि आईए पास गरेर ब्याच्लर्स पढ्न थालेँ, पद्मकन्या क्याम्पसमा। ब्याचलर्समा दुवैले मेजर म्याथ र ईकोनोमिक्स पढे। दुवैको पढाई पनि उस्तैउस्तै थियो, दुवैजना पास चाहिँ गर्थे तर राम्रो नम्बर ल्याउनचाहिँ सक्तैनथे। मञ्जु उनकै मामाको घरमा बस्थिन्, मेनुका आफ्नै घरमा। मञ्जुको मामाको घरमा मेरो आउजाउ थिएन तर मेनुकाको घरमा दिनहरु वित्दै जाँदा वाक्लिँदै गईरहेको थियो। तरपनि मञ्जुले मलाई वाक्लै फोन गर्थिन्, पुल्चोक होष्टेलमा। कहिलेकाहीँ माईजुको आँखा छलेर घरैवाट गर्थिन् तर धेरैजसो चाहिँ नजिकैको सार्वजनिक टेलिफोन वुथवाट। मेनुकाले पनि मलाई धेरै फोन गर्थिन्। कुनै ईमर्जेन्सीकाम वाहेक म चाहिँ फोन गर्दिनथेँ, दुवैलाई। मञ्जु प्रायजसो सबै बिदाहरुमा घर जान्थिन्। म चाहिँ दशैंमा जान्थेँ घर, जाडो विदामा चाहिँ जान्नथेँ। दशैँमा हामी गाउँका धेरै साथीहरु मिलेर रमाईलो गर्दै जान्थ्यौँ। मञ्जुसँग घर जाँदा मलाई बाटो हिड्न पनि गा-हो हुन्नथ्यो।

समयसमयमा दुबैसँग भेट हुन्थ्यो मेरो। धरैजसो वेग्लावेग्लै र आकलझुकल चाहिँ सँगै। तीनैजना सँगै भएका बेलामा चाहिँ पढाईका गफ हुन्थे। वेग्लावेग्लै भएका वेलामा चाहिँ अरु गफहरु पनि हुन्थे। पद्मकन्या क्याम्पस नजिकैको विमला स्विट्स होस् या न्युरोडको नेपाल डेरी। नयाँबानेश्वर चोकको चाट हाउस होस् या नयाँ वानेश्वरकै क्याफे। कुपन्डोलको मितेरी रेष्टुरेन्ट होस् या थापाथलीको रामभन्डार। यी हाम्रा भेटघाट र गफगाफका स्थानहरु थिए। विमला स्विटस् र वानेश्वरको चाटहाउसमा जान्थ्यौँ प्रायजसो, मञ्जु र म मात्र हुँदा। नेपाल डेरी र क्याफे नै जान्थ्यौँ, मेनुका र म चाहिँ। दुबैले मलाई कहिल्यै पनि पैसा तिर्न दिएनन्, हामीले खाएको। आकलझुकल मञ्जु र मैले खाएका बेला चाहिँ म पनि तिर्थेँ, जवरजस्ति गरेर। तर मेनुकाले त कुरै पर्न दिन्नथिन्। गोदावरी, नगरकोट, सुन्दरीजल, गोकर्ण, बालाजु, बुढानिलकन्ठ, त्रिभुवनपार्क, जाउलाखेल चिडियाखाना हाम्रा गन्तब्यहरु थिए, भेटघाट र गफगाफका। मञ्जुसँगका भेटहरु तुलनात्मक रुपमा सिरियस हुन्थे, मेनुकासँगका चाहिँ रमाईला। मेरो व्यक्तिगत कुरो गर्ने हो भने चाहिँ मेरो मन मञ्जुलाई भेट्न पाउँदा निकै रमाउँथ्यो, कहिले भेटौँ कहिले भेटौँ जस्तो लाग्थ्यो। भेटेका दिन मनै हलुका भएर आँउथ्यो। मेनुकालाई पनि मैले राम्रै स्थानमा राखेको थिएँ। काठमाण्डौको धनि परिवारमा जन्मेर पनि मलाई उनले गरेको सहयोगले म उनीप्रति आभारी थिएँ। उनले भनेको कुनै कुरा पनि काट्न उचित लाग्दैनथ्यो, उनको इच्छा विपरीत केही पनि गर्दिनथेँ।

चारबर्षे बिई पढ्दाको अबधिभर दुबैसँग मेरो राम्रै रिलेशन भयो। न त कसैले कसैलाई प्रेम प्रश्ताव राख्यो, न त हाम्रो एकआपसका मन भित्रका कुराहरु राख्यौँ। मलाई मञ्जु अति नै मन पर्थ्यो। मेनुकाले पनि उनको व्यवहार अनुसार उनले मलाई मन पराउने जस्तो चाहिँ लागेको थियो, तर पूरा थाहा थिएन। मलाई मेनुका ठीकै लाग्थ्यो तरपनि मञ्जुको अगाडि उनी दोस्रो नम्वरमा नै पर्थिन्।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४५

भर्खरै ईञ्जिनियरीङ कोर्ष सकेर जागिर ज्वाईन गरेको थिएँ, अस्थाई ईञ्जिनियर पदमा। सरहरुको लहैलहैमा लागेर विदेशमा पढ्न जान भनेर केही युनिभर्सिटीमा फर्म पनि भरेँ, राम्रा-नराम्रा दुबै खालका। अमेरीकाका दुई, जापानका दुई र थाईल्याण्डको एआईटीमा भरेँ। आफू खर्च गरेर पढ्न सक्ने चान्सै थिएन। “ब्याच्लर्समा रीजल्ट धेरै राम्रो नआएकोले स्कलरसिप पाउन चाहिँ गाह्रो हुन्छ” भन्ने लागि सकेको थियो। फेरि सानो हुँदाको आफ्नो इच्छा भन्दा पनि धेरै नै बढी पढिसकेको थिएँ। एसएलसीपछि माष्टर बन्ने रहर थियो। ओभरसियर पछि ठूलो “उपरसेठ” भएर पैसा टन्न कमाउने मन थियो। ईञ्जीनियर भए पछि त कामै नगरी “ईञ्जिनियरसाप” लाई ह्वार्ह्वर्ति पैसा बर्सिन्छ” भन्ने कुरा धेरै जनाबाट सुनेको थिएँ। भर्खरै जागिर ज्वाईन गरेको हुनाले आफूले चाहिँ पैसा कमाउन भ्याएकै थिईन, अथवा, पैसा कमाउने तरिका नै थाहा पाएको थिईन। तरपनि “महिनाको ४२०० रुपैंया भएपछि त राम्रैसँग बित्छ जीन्दगि” भन्ने लाग्यो। आखिर छात्रबृति नपाए पनि मलाई केही फरक नहुने भयो।

स्थायी जागिर नभएपनि पढाई सकिने बितिक्कैदेखि उमेर पुगेका छोरीका बाउहरु लाईन लाग्न थालेका थिए, केटी दिन भनेर। ईञ्जिनियर ज्वाईँ वनाउन तँछाड-मछाड थियो। २०५६ सालको मंसिर महिनाभरी धेरै तिरबाट कुरा आउन थाले, केटीहरुका। म जता जाँदा पनि खालि बिहे र केटीहरुको मात्र कुरा हुनथाले पछि चाहिँ बिहे गर्ने कुरा पनि कताकता मनमा खेल्न थाल्यो। जोशिलो उमेर न हो, कुरा सँगै रहर पनि लाग्दै गयो। आखिर अरु धेरै पढ्ने मन पनि थिएन। अस्थाई नै भए पनि सरकारी जागिर छँदै थियो। “बिहे गर्दा पनि केही बिग्रँदैन” भन्ने कुरा सोच्न थालेँ।

कोहीकोही कहिल्यै नसुनेका केटीहरुको कुरा ल्याउँथे। कोही सुनेको तर राम्रोसँग बोलचाल पनि नभएका केटीहरुको कुरा चलाउँथे। म आफैँले ट्युशन पढाएका केही केटीहरुको पनि कुरा आयो। मैले ट्युशन पढाएका केटीहरु मध्ये सबभन्दा घुलमिल भएको भनेका मञ्जु र मेनुका मात्र थिए। उनीहरुको कुरा चाहिँ कसैले चलाएन।

आफूले सानैदेखी सम्पूर्ण बानीब्यहोरा थाहा पाएको भनेको मञ्जुमात्र थिईन्। हुन त मेनुकासँग चिनजान भएको पनि ६ बर्ष भैसकेको थियो। ट्युशन पढाउन थालेको छसात महिनापछि देखि नै फोन गर्न थालेकी थिईन् मलाई मेनुकाले। शहरी वातावरणमा हुर्किएकी उनलाई मलाई भन्दा धेरै कुरा थाहा थियो। उनका बाबा पनि गाउँले परिवेशवाट सानो छँदै पढ्न भनेर काठमाण्डौ आउनु भएको रहेछ। उहाँले सानोछँदा गरेको दुख र संघर्षको सबैकुरा सुनाउनु हुन्थ्यो। परिश्रमबाट निकै ठूलो ओहोदामा पुग्नु भएको रहेछ। गाउँको मध्यम परिवारमा जन्मेर कार्यकारी निर्देशक पदसम्म आईपुग्दा उहाँले भोग्नु भएका सबै कुराहरु मैले पनि अनुमान गर्ने खालका थिए। मैले पनि आफ्ना केही कुराहरु गरेँ तरपनि सबै कुराहरु चाहिँ गर्न मन लागेन, विशेष गरेर मेरो कहालीलाग्दो गरीवी र घनश्यामसरकोमा बसेर पढेको कुरा। मञ्जुले पनि मलाई “गाउँको स्कुलमा सिनियर भएर चिनेकी मात्र” भनेकी रहिछिन् मेनुकालाई। मेनुका पनि हाम्रा कुरा सुन्थिन्। काठमाण्डौ मै जन्मि हुर्कि गरेकी उनलाई उनका बाबा र मेरा कुराहरु सायद एकादेशका कथा लागे होलान्।

मञ्जु मलाई अति नै मन पर्थ्यो। जुनकेटीको कुरा हुँदा पनि सबभन्दा पहिले मञ्जु नै आँउथिन् दिमागमा। तुलना गर्थेँ, उनीसँग सबैलाई। उनको समकक्षमा कोही पनि पुग्न सक्तैनथे। मेनुकाको परिवारसँग त तुलना हुने कुरै थिएन। तुलना गर्दा पनि त कमसेकम तुलनायोग्य त हुनुप-यो नि!

मञ्जुसँग मैले मन पराएको कुरा गर्ने आँट कहिल्यै आएन। सोच्थेँ “उनको सोचाईमा म कहिल्यै पनि त्यस रुपमा परेको रैनछु भने त सबकुरा बर्बाद हुन्छ। घनश्याम सरको परीवारको नजरमा त म हदैसम्म गिर्छु। म एक औसरवादी फटाहा केटाको रुपमा दरिन्छु। मलाई रामपुरमा मुख देखाएर हिड्न पनि लाज हुन्छ। मेरो पढाईका खातिर आफ्नै घरमा राखेर घनश्याम सरले मेरो जीवनमा लगाएको गुन, मैले उनको परिवारिक वातावरण बिगार्नका लागि हो र? अहँ हुन्न, मैले घनश्याम सरले म माथी गरेको विश्वासलाई कहिल्यै पनि तुसारापात हुन दिनु हुन्न। मैले यो कुरा अगाडि बढाउनै हुन्न, मञ्जुसँग यस्तो कुरा गर्नै हुन्न। उनले नै कुरा शुरु गरे, त्यसमा सहमति जनाउने भनेको कुरा बेग्लै हो। घनश्याम सरले नै पहिले कुरा चलाए बेग्लै कुरा हो, तर म बाट यस्तो कुरा कहिल्यै पनि शुरु गर्नु हुन्न”

“आ…, जे पर्छ पर्छ। एकपटक चाहिँ कुरा राख्छु मञ्जुसँग मात्र। कुरा गर्नु अगाडि नै घनश्याम सरलाई चाहिँ नभन है भनेर कसम ख्वाँउछु” मन निकै दरो बनाएँ। २०५६ साल मंसिर २८ गते मंगलबार सुन्दरीजल घुम्नजाने योजना बनाएँ। मञ्जुले पनि मेरो योजना मानिन्।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४६

२०५६ साल मंसिर २८ गते मंगलवार। मञ्जुलाई मेरो प्रेम पस्ताव राख्ने योजना बनाएको दिन। आँट गरेर मनको कुरा खोल्ने मौका। जीवनमा कुनै केटीमान्छेसँग पहिलो पटक प्रेम प्रस्ताव राख्ने योजना। अलिअलि पलाएका दारीजुँगा पनि काटेर चिटिक्क परेँ। साहुनीको आईरन मागेर कपडामा आईरन पनि गरेँ। घडिको सुई पनि कस्तो ढिलोढिलो हिँडेजस्तो लाग्थ्यो। बिहान १० बज्नु अगावै तोकिएको ठाँउमा पुगेँ, त्यस दिन।

तर मञ्जु त्यहाँ आईनन्। उनी जहिले पनि म भन्दा अगाडि नै आँउथिन्।

मञ्जुलाई फोन गर्न पनि मन लागेन, कताकता रीस पनि उठ्यो। मनमा नानाथरी कुराहरु खेल्न थाले। “पक्का पनि मञ्जुले गेस गरिन् र नआएकी हुन्। उनलाई मेरो कुरा अस्विकार गर्ने आँट भएर नआएकी हुन भन्ने” सोचेँ। तीन घन्टाको कुराईपछि आफ्नै कोठामा फर्किएर बसेँ। त्यसदिन कोठामा पनि बस्न मन लागेन, बाहिरतिर टोहोलाएर यताउता घुमिरहेँ।

वेलुका चारबजेतिर म कोठामा छिर्ने बितिक्कै फोनको घन्टी बज्यो। “पक्का पनि यो मञ्जुको फोन हो। वहाना बनाएर फोन गरेको” भन्ने सोची तीनचार घन्टी जाँदासम्म फोन उठाईँन। “अब मञ्जुसँग वेस्सरी रिसाउछु” भन्ने सोची फोन उठाँए र रिसाएको बोलीमा भनेँ “हेलो”।

झट्ट उत्तर आएन। केहिबेर पछि केटीमान्छेको आवाजले भन्यो “ओमसर वोल्नु भा हो?”

“हो, को मेनुका?” मलाई मेनुकाको जस्तो लाग्यो स्वर।

“हजुर म मेनुका। मैले डिष्टर्व त गरिन?”

“हैन, त्यस्तो केही हैन”

“सरको आज वेलुका फुर्सद छ?”

“फूर्सदै छु, किन र?”

“बाबाले भरे वेलुकी हाम्रै घरमा बस्नेगरी हजुरलाई हाम्रो घरमा वोलाउनु भन्नु भर मैले फोन गरेकी” मेनुकाले मलाई उनको घरमा वोलाईन् “खाना यतै खाने गरी आउनुस् है”।

वेलुका म मेनुकाको घरमा गएँ। त्यहाँ पुगेपछि भने मलाई सधैँको जस्तो नभएर अलिक अर्कै जस्तो लाग्यो। मेनुकाको व्यवहार पनि अलिक भिन्नै लाग्थ्यो। उनी निकै नै फूर्तिली थिईन्। बेलुकाको खानपिन भयो, निकै किसिमका परिकारका साथ। सबैजना मिलेर टिभी हे-यौँ। रातिको १० पनि बज्नै लाग्यो। मेनुका पनि आफ्नै कोठामा गईन्। मेनुकाको बाबा, ममी र म चाहिँ बैठक कोठामै थियौँ।

“अनि ओम बाबू, के गर्ने बिचार छ त अब? अरु पनि पढ्ने कि स्थाई जागिर खानतिर लाग्ने?” मेनुकाको बाबाले सधैँ झैँ मेरो बारेमा पनि सोध्नुभयो।

“पढ्ने कुनै योजना छैन। अब स्थायी जागिरमा नाम निकाल्नेगरी लोकसेवाको तयारी गर्ने विचार छ”

“कि बिहेसिहे गरेर घरजम गर्ने विचार छ?” उहाँले हाँस्तै भन्नुभयो।

“अहिल्यै के बिहे गर्नु र? केही त ब्यवस्था भा छैन। भर्खर त अस्थाई जागिर शुरु गरेको छु। स्थायी हुन अरु कति समय लाग्ने हो?” मैले आफ्नो कुरा भनेँ।

“बिहे गरेपछि पनि त ब्यबस्था गर्न सकि हालिन्छ नि” उहाँले फेरि दोहो-याउनु भो।

“हाम्री मेनुकाले पनि बिए सकिन् यसपाली। अब राम्रो केटा पाए बिहे गरेर पठाईदिने भनेको। खै भने जस्तो केटा पनि मिल्दैन” मेनुकाको ममीले आफ्नै छोरीको कुरा गर्नुभो।

“पाईहालिन्छ नि। पढेको मान्छेलाई केटा त जति पनि पाईन्छ” म पनि कति न बिहेको कुरामा पोख्त जस्तो गरी कुरा गरेँ। मेरो उदेश्य मेनुकाको ममीलाई सान्त्वना दिनु थियो।

“खै बाबू, छ‍-सात महिना भैसक्यो मेनुकाको बाबाले कोशिष गरेको, अहिलेसम्म चित्तबुझ्दो मिलेकै छैन” ममीले नैराश्यता देखाउनुभो।

“बाबूका साथीहरु कोही छैनन्? यसो ईञ्जिनियर केटा खोजेर दिन पाए पछि दु:ख पाउदिनथी कि भनेर नि वाबु” ममीले फेरि कुरा मैतिर फर्काउनु भो।

“अब के बाहिर खोज्दै हिड्नु, बाबूको के विचार छ? मेनुकालाई पनि मन पर्ने रहेछ। बाबूलाई पनि मन छ भने…” मेनुकाका बाबाका उन्नाईसवटा शब्दले मेरो मुटुमा भूँईचालो लगाईदियो। म त अक्क न बक्क परेँ। केही बोल्नै सकिन। के भन्ने न के भन्ने भन्ने लाग्यो। सपनामा पनि नचिताएको कुरा एक्कासि आँउदा म त पुरै सल्याकसुलुक भएँ।

मेनुकाका बाबा र ममीले कुरा गरीरहनु भयो धेरैबेर, मैले सुनिमात्र रहेँ। सोधेको प्रश्नको उत्तर नकारात्मक नहुनेगरी दिने बाहेक केही प्रतिकृया जनाईन। मेनुकाले मलाई मन पराए पनि उनका बाबाममीले एउटी छोरीलाई यति धेरै गरीवलाई दिन मान्छन् भन्ने कुरा त मैले कहिल्यै पनि सोचेको थिईन।

सायद म धेरै नै चुपलागेको देखेर होला, मेनुकाका बाबाले भन्नुभो “वाबु, यो त हाम्रो कुरा हो। बिहे जस्तो कुरामा एकतर्फी कुराले हुन्न। बाबूलाई पनि चित्त बुझ्नु पर्छ। मेनुकाको पनि चित्त वुझ्नु पर्छ। एकपटक मेनुकासँग कुरा गर्दा हुन्छ नि”। मेनुकाका बाबा निकै नै सिरियस हुनुभयो।
“म मेनुकालाई बोलाईदिँउ” मेनुकाको ममीले छिट्टै बोल्नुभो।

“मेनुकाको कोठैमा गएर कुरा गर्दा हुन्छ” मेनुकाका बाबाले कुरा गराउने नै विचार गर्नुभो।

“हुन्छ नि” मैले उहाँहरुका कुनैपनि कुरा काट्न उचित मानिन। उहाँहरुलाई नराम्रो लाग्ने कुनैपनि कुरा गर्नै सकिन।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४७

हामी तीनैजना मेनुकाको कोठामा गयौँ। मेनुकाको बाबाले कोठाको ढोका ढक्ढक्याउँदै भन्नुभो “ए मेनुका?”

उनले छिट्टै ढोका खोलिन्, मानौ उनी त्यहि कुरालाई नै पर्खेर बसिरहेकी थिईन् ढोका नजिकै। म र मेनुकालाई कोठामा छोडेर उहाँहरु फर्कनुभयो। बाबाममी हिड्ने वितिक्कै मेनुका गएर ढोकाको चुकुल लगाईन् र खाटमा गएर बसिन्। म सोफामा बसिरहेको थिएँ। उनी सिरियस थिईन्। अघि म उनको घरमा आँउदाको चन्चलेपन उनीवाट हराएर बेपत्ता भैसकेको थियो। म नजिकैको कान्तिपुर हातमा लिएर हेर्नथालेँ। उनी पनि किताब हेरिरहेकी थिईन। दुबैजना निकैबेर सम्म बोलेनौँ।

मेनुकाले कुरा शुरु गर्लिन् जस्तो नलागेकोले मैले नै शुरु गरेँ “माष्टर डिग्री नपढ्ने हो, मेनुका अब”

“पढ्ने नि। अर्को बर्षबाट भर्ना गर्ने। मिलेसम्म जागिर पनि खाँदै पढ्दै गर्ने। बाबाले जागिरको लागि साथीहरुसँग कुरा गर्दिन्छु भन्नु भाको छ” उनले सबैकुरा सकिन् एकैपटकमा। अनि फेरि हामी चुपचाप भयौँ। त्यसपछि ट्युशन पढ्दाका कुरा भए। सँगै ट्युशन पढेका उनका साथीहरु को काहाँ छन् भन्ने कुरा भए। तर हाम्रा गफहरु गाँठीकुरामा पुग्दै पुगेनन्, निकै बेरसम्म।

उनबाट कुरा शुरु होला भन्ने लागेन मलाई। मैले नै सोधेँ “अनि मेनुका, बाबाममी खै के-के कुरा गर्नु हुन्छ त, कुरा के हो?”

“के कुरा गर्नुभो र?” उनले थाहा नपाए जस्तो गरी स्वाङ पारिन्।

“बिहे गर्ने रे हो?” मैले भनेँ।

“खै, बाबाममी अब बिहे गर्नुपर्छ भन्नु हुन्छ” उनले बाबाममीतिर पु-याईन कुरा।

“बाबाममीले मात्र कि तिमीले पनि” मैले केरेँ।

“मैले नि त बाबाममीसँग कुरा राखेकी। हाम्रो घरसल्लाह हो धेरै महिना देखिको। छ-सात महिना अघिदेखि नै तपाईँको र मेरो बिहेको कुरा हुन्थ्यो हाम्रो घरमा” उनले उनको घरमा महिनौँदेखि पाकिरहेको खिचडीलाई छताछुल्ल पारिन्।

“त्यसोभए, तिमीलाई म मन पर्छ?” मैले उनको राय जान्न खोजेँ।

“पर्छ नि!” उनी मुसुक्क मुस्काइन् र लाजले टाउको तल झुकाईन्।

“किन मन परेको?”

“तपाईँको ट्यालेन्सी”

“धन-दौलत?”

“म त्यस्ता कुराहरुलाई घृणा गर्छु”

“घृणा गरेपनि आवश्यक त पर्छ नि हैन र?”

“चाहिने जति भए हुन्छ”

“तिमीलाई म मन पर्नाको मुख्य कारण?”

“तपाईँ अन्य केटाहरु भन्दा बेग्लै हुनुहुन्छ, युनिक हुनुहुन्छ”

“कसरी थाहा भयो तिमीलाई”

“यत्रो छ-सात बर्षसम्म पनि मैले तपाईँलाई बुझ्न सकिन त?”

“यत्रो बर्ष वितिसक्ता पनि मलाई किन नभनेको नि?”

“तपाईँ पढ्दै हुनुहुन्थ्यो, म पनि पढ्दै थिएँ, किन हतारिनु थियो र?”

“अनि अहिले चाहिँ?”

“अब पनि नभन्दा त तपाईँ मबाट फुस्कन सक्नु हुन्थ्यो”

“किन फुस्कनु र? मलाई त अहिले बिहे गर्ने मनै छैन” मैले भनेँ।

उनले अँध्यारो अनुहार लगाईन्, केही पनि बोलिनन्।

“अनि तिमी आफैँले किन कुरा नराखेकि त?” मैले सोधेँ।

“मैले भन्दा बाबाममीले कुरा राख्नु भो भने तपाईँले मान्नु हुन्छ भनेर”

“मैले मानिन भनेँ?”

“मेरो भाग्यमा लेखेको रैनछ”

“मैले माने भनेँ?”

“मेरो जीन्दगिको सबभन्दा खुशीको क्षण हुनेछ”

“हेर मेनुका। कुरा तिमीले देखेजस्तो मात्र सजिलो छैन। मेरो बारेमा थाहा छ?”

“जान्न खोज्दैछु। तपाईँले नै भन्नु भयो भने मलाई बुझ्न झन् सजिलो हुन्छ”

“मेरो घर काहाँ हो, थाहा छ?”

“ओखल्ढुंगा, पुर्वी पहाड”

“कति दिन लाग्छ पुग्न, थाहा छ?”

“तीनचार दिन लाग्छ रे हिडेर जान। बाबाले भन्नुभको”

“मेरो घरमा को-को छन् थाहा छ?”

“थाहा छैन, भन्नुस् न को-को हुनुहुन्छ?”

“बाबा हुनुहुन्न। सानोछँदै वित्नुभयो”

“त्यो त थाहा छ। अरु को-को हुनुहुन्छ?”

“आमा, एकजना भाइ र एकजना बहिनी। सबैजना मेरै आसमा छन्”

“कति सानो परिवार रहेछ, हाम्रै जस्तो” उनले परिवार पनि तुलना गरिन्।

“तिमी यस्तो घरमा बसेकी मान्छे, बिहे गरेपछि भाडाको कोठामा बस्नु पर्छ”

“त्यस्तो कुरामा मलाई मतलव छैन। तपाईँ जहाँ जानु हुन्छ त्यहाँ जान्छु, तपाईँ जहाँ बस्नु हुन्छ त्यहि बस्छु, तपाईँ जे खानु हुन्छ त्यहि खान्छु” उनले परिपक्कता देखाईन्।

“तिमीलाई कुनै कुराको पनि प्रोवोलम छैन हैन त त्यसो भए” मैले अझै खेरेँ।

“केहि पनि छैन। मैले तपाईँलाई राम्रैसँग चिनेकिछु जस्तो लाग्छ।”

“मलाई, चाहिँ केही नसोध्ने?”

“सोध्ने नि, मेरो पालो आउँदैछ”

“ल सोध अब” मैले अनुमति दिएँ।

“म तपाईँलाई कस्तो लाग्छ?”

“मलाई कस्तो पनि लाग्दैन”

“मतलव? तपाईँलाई म मन पर्दैन हो?”

“मन पर्ने नपर्ने कुरा हैन। मैले तिमीलाई त्यस रुपमा कहिल्यै सोचिन”

“किन, म तपाईँसँग बिहे गर्न योग्य छैन?”

“हैन, मैले त्यसो भनेको छैन”

“तपाईँ आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहनुहुन्छ?”

“मैले त्यतातिर ध्यानै दिन पाको छैन”

“केहि त भन्नुस्?”

“मसँग बिहे गर्नेले मेरो आमालाई आदर गर्न सक्नु पर्छ। मेरा भाइबैनीलाई आफ्नै भाइबैनीको रुपमा लिनुपर्छ”

“मलाई सब मञ्जुर छ। मैले तपाईँको कुरालाई जहिले पनि मनमा राख्नेछु”

धेरै बेरसम्म गफ भए, सबै कुराहरु खुलस्त रुपमा। मेनुकाले पनि सबैकुरा सोधिन्। सबै कुराहरु पोजिटिभ रुपमै अगि बढे। विस्तारै बिस्तारै बिहे गर्ने नै गरी कुरा भए। करिब १ घन्टा जति बितेपछि म सोफाबाट उठ्दै भने “ल मेनुका भन, के भन्दियौँ त बाबाममीलाई?”

“प्लिज हुन्छ भन्नुस् न ल?” उनले अनुरोध गरिन्।

“तिमी नै भन, जे भन्न मन लाग्छ त्यहि। तिमीले भनेको कुरा म मान्न तयार छु। हुन्छ भनेपनि हुन्छ, हुन्न भने पनि हुन्छ”

“थ्यांक्यु। म धेरै खुशी छु आज” उनी धेरै खुशी भईन्।

“एउटा कुरा सोधौँ?” मैले उठ्दा उठ्दै उनीतिर फर्केर सोधेँ।

“के कुरा सोध्नुस् न?” उनी पनि खाटबाट उठीन्।

“तिम्रो कसैसँग लभसब चलेको त छैन? छ भने भन है। बाबाममीलाई भन्न नसकेको भए म भन्दिन्छु नि” मैले अलिकति हाँसेर सोधेँ।

“म त्यस्तो लभ गर्दै हिड्ने केटी हैन के! बरु तपाईँको भए भन्नुस्” उनले मलाई सोधिन्।
“हाहाहा…” म लामो हाँसो हाँसेर कोठाबाट बाहिरिएँ। मेरो बनावटी हाँसो सकिँदा नसकिँदै मञ्जुको अनुहार नाच्न थाल्यो दिमागमा। मनमनै सोचेँ “के गर्नु, आफूले मात्र मन पराएर नहुने रहेछ”।

भोलिपल्ट बिहान बिहेको कुरा छिनियो। आँउदो माघ ३ गते सोमवार नै बिहे गर्ने निधो भयो। मैले केवल उनीहरुका कुरामा सहमति जनाएँ। मैले केही पनि खर्च गर्नु नपर्ने रे। सबै उहाँहरुले हामी गर्छौँ भन्नुभयो। कुरा छिनेको भोलिपल्टै म अफिसको कामले बाहिर गएँ, पन्ध्र दिनको लागि। मेनुका अति खुशी भईन्। एकपटक मञ्जुलाई फोन गर्न मन त लागेको थियो त्यसबेला, तर मेनुकाका घरबाट गर्न आँटै आएन। कुरा नै छिनिसकेपछि फोन गर्न पनि डर लाग्यो। म अति नै डराएँ। मनमा कस्तो कस्तो लागिरह्यो। फिल्डमा काम गरिरहँदा पनि सधैँ मञ्जु र मेनुकाका अनुहारहरु आलोपालो मेरो दिमागमा आईरहे। घनश्यामसरको घर र मेनुकाका घरका दृष्यहरु पनि घुमिरहे।

साझाल्याण्ड,
११ मंसिर २०६३
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Do nepalese really need TPS?
Problems of Nepalese students in US
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters