Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 140303 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 03-16-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मँ चैँ दङ्ग परेँ तर आँशु चैँ आएन !
 
Posted on 03-16-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke garnu maile payaj kaat da pani yesto aasu aayako thiyana, sarai hridaya nai chune kaatha rahe cha,

Ok Manju ahile kaha chin ani ke gardai chin,
 
Posted on 03-17-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok,

Where is the rest of the story?.. can't wait anymore..
 
Posted on 03-18-06 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK JI....
IT TOOK ME 5 HRS TO READ YOUR STORY FROM THE BEGINING. I REALLY ENJOYED IT... THANKS FOR SHARING UR STORY WITH SAJHA.. LOOKING FORWARD TO HEAR MORE...........
KEEP IT UP GREAT WORK... :)
 
Posted on 03-18-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la mero balla palo aayo, SLC pass bhako ma badhai cha hai !
 
Posted on 03-22-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके

खण्ड ३४ (भाग १- अन्तिम खण्ड)
रीजल्ट भएको दिन देखिनै म निकै नै अतालिएको थिएँ। भबिश्यको बारेमा केहि न केहि गर्ने बेला आईसकेको थियो। पहिलो र एउटै उपाय भनेको नै एउटा माष्टरको जागिर खोज्नु र पाउने तलबबाट हाम्रो घरको गरीवीलाई सदासदाका लागि बिदा गर्नु नै थियो। त्यस्ले एकातिर मेरी आमाको सपना साकार हुँदा उहाँको अनुहारमा सधैँका लागि खुसिको बहार ल्याउन सक्थ्यो भने अर्कोतिर मेरो गाँउबाट पहिलो माष्टर बन्ने सौभाग्य पाउँदा म आफैँलाई पनि गौरवान्वित बनाउँथ्यो। विचविचमा सरहरुले काठ्माण्डौ गएर अलिक धेरै पढ्ने र स्कुल र जिल्लाको ईज्ज्जत राख्ने कुराले अलिअलि भाँडिएको मन बाहेक मेरो यो नै एकमात्र उदेश्य थियो, एकमात्र लक्ष थियो। हुन त त्यसबेला सम्म माष्टरको जागिर पाउन पनि निकै मुश्किल भैसकेको थियो। फेरी सिमित प्रजातन्त्र हातमा पर्ने बितिक्कै के के न पायौँ भनेर मैमत्त भएका तत्कालिन जनआन्दोलनकारी पार्टीका नेताहरुको पार्टीबाद र नाताबादले म जस्तो कतैपनि आफ्ना नातेदार ठूला मान्छे नभएको र कुनै पार्टीतिर पनि खुलेर नलागेको फूच्चेले जागिर पाउन निकै नै गाह्रो थियो। तर पनि एसएलसीमा रीजल्ट राम्रो भकोले आस भने पुरै मारिसकेको थिईन। छिटोछिटो जागिर खोज्दा चाहिने कागजपत्र तयार पार्नतिर लागेँ। मार्कसिट र स्कुलबाट दिएको क्यारेक्टर सर्टिफिकेटको पनि नक्कल तयार पारेँ २/२ वटा, हातैले लेखेर। फोटोकपी भन्ने कुरा त सुनेको पनि थिईन। गाबिस सचिवबाट नागरिकताको लागि चाहिने सिफारिसपत्र पनि बनाएर ठीक्क पारेँ।

अर्को हप्ताको आईतबार नागरीकता बनाउन ओखल्ढुंगा जाने योजना थियो। नागरिकताको लागि फोटो पनि चाहिने हुनाले फोटोखिच्न भनेर ओखल्ढुंगा हाट गएँ, अघिल्लो दिन शनिबार नै। जाने बितिक्कै फोटो खिचेँ, मेरो जीवनको तेस्रो फोटो। पहिलो फोटो ९ कक्षा पढ्दा एसएलसीको रजिष्ट्रेशन फर्म भर्नलाई र दोस्रो फोटो मञ्जुसँग मञ्जुकै घरमा खिचेको थिएँ। रजिष्ट्रेशन भर्दा खिचेको फोटोको नेगेटिभ हराएर फेरी खिच्नु परेको थियो यसपाली। मञ्जुसँग खिचेको फोटोचाहिँ एकप्रतिमात्र बनाएकोले उनले नै राखेकी थिईन्। स्टुडियोबाट बाहिर निस्कने बितिक्कै रामपुरमा सँगै पढेका साथीहरुलाई देखेँ। उनिहरु पनि म जस्तै नागरीकता बनाउनलाई फोटो खिच्न आएका रहेछन्। उनिहरुसँगै हाट घुमेँ।

हाटको भिडमा अकस्मात हेडसरलाई देखेँ। उहाँ मैले नचिनेका धेरै मानिसहरुसँगै हिडिरहनु भएको थियो।

"सर, नमस्कार!" उहाँले नदेखिकनै मैले नमस्कार गरेँ। मसँगै हिडेका साथीहरु अलिक अगिअगि थिए, हेडसरलाई देखेनन्।

"ए ओम, तिमी पनि हाट हेर्न आएका?" हेडसरले पुलुक्क म तिर फर्केर हेर्दै मुसुक्क हाँसेर भन्नुभो।

"हैन सर! नागरिकताको लागि फोटो खिच्न आको। आएको बेलामा यसो हाट पनि हरेर जाँउ भनेर यता तिर आको।"

"खिचिसकेउ त फोटो?"

"बिहानै आउने बितिक्कै खिँचे सर"

हेडसर र मेरो यति बातचित हुँदा उहाँसँग भएका अरु मानिसहरु चाहिँ माथ्लो गराको डिलमा पुगेर उहाँलाई कुरिरहेका थिए।

"ल है त, हाट हेर" उहाँ आफ्नै साथीहरु उभिएको तिर लाग्नु भो, म पनि आफ्नै साथीहरु भएतिर लागेँ।

"ए, ओम!" हेडसरले निकै ठूलो स्वरले बोलाउनु भो २ कान्ला मास्तिरबाट, छुटेको एकैछिन् पछाडि। म पनि पुलुक्क माथितिर फर्केर हेरेँ। उहाँ मलाई हातको ईसाराले उहाँ भएतिर बोलाउँदै हुनुहुन्थो। मेरा साथीहरुलाई 'एकछिन् है, म छिट्टै आउँछु' भनेर कुद्दै हेडसर भए तिर लागेँ।
"जिशिअ सर, ओम खनाल भन्ने विद्यार्थी यिनै हुन्, यसपाली रामपुरबाट प्रथम भका" हेडसरले अलिक भलाद्मी जस्तो देखिने मानिसतिर फर्केर भन्नु भो। जिशिअसर भन्ने बितिक्कै मैले पुलुक्क उहाँको मुखमा हेरेँ, तर चिनिन। नयाँ मान्छे जिशिअ भएर आउनु भएको रहेछ, मलाई त थाहा नै थिएन। हाजिरजबाफ, निबन्ध प्रतियोगितामा आउदा पहिलेको जिशिअसरलाई त चिनेको थिएँ।
क्रमशः
 
Posted on 03-22-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भाई, तिमीले राम्रो गरेछौ यसपालीको एसएलसीमा। बधाई छ। हाम्रो जिल्लाको ईज्ज्जत राख्यौ। भविश्यमा अब पनि यस्तै गर्दै जानु!" जिशिअसरले म तिर हात बढाउनु भो। म त दोधारमा परेँ, हात दिनु कि नदिनु? नदिउँ भने त्यत्रो ठूलो मान्छेले भनेको कुरा कसरी नमान्नु, दिउँ भने त्यत्रो ठूलो मान्छेसँग म जस्तो फुच्चेले कसरी हात मिलाउनु? अप्ठ्यारो मानीमानी बिस्तारी हात बढाएँ। सँगै हुनुभएका अरु मानिसहरुले पनि मलाई बधाई दिए, हात मिलाए। "ल हिड एकछिन् हामीसँग" जिशिअसरले उहाँहरुसँगै जान भन्नुभयो मलाई पनि। हामी नजीकैको चियापसलमा गयौँ। म चाहिँ सबभन्दा पछिको र कुनाको कुर्सीमा बसेँ। सकेसम्म कसैले नदेखे पनि हुन्थ्यो जस्तो लाग्यो। धेरै नै धक लागेको थियो, अलिअलि डर र लाज पनि थियो।
"कतिजना छौँ हामी?" जिशिअसरले सबैतिर हेर्दै सँख्या गन्नु भयो। "ए साउनी, सात कप चिया बनाउनुस् त, स्पेशल है!" चिया अडर गर्दै जिशिअसरले म तिर फर्केर भन्नु भो "अनि भाई, अरु केहि खान्छौ?"। फेरी सबैसरहरुतिर फर्केर एकसरो आँखा डुलाउँदै सोध्नु भयो "सरहरु पनि केहि लिनु हुन्छ कि?"

"सर, म केहि खान्न। भर्खरै साथीहरुसँग खाको" मैले ढाँटे। खाजा त काहाँ खानु र, त्यहि बिहान घरमा हिँजो बेलुका पकाएर राखेको मकैको च्याँख्लाको भात दुधसँग खाएर आको थिएँ। अरु सरहरुले पनि चिया मात्र खाने कुरा गर्नुभो।

"अनि के गर्छौ त भाई, अब? कहिले जाने काठमाण्डौ पढ्न?" जिशिअसरले मतिर फर्केर भन्नु भो।

"सर, म त नपढ्ने अब। एउटा माष्टरको जागिर खोजेर खाने। आमाको पनि यहि मन छ।"

"किन? यति पढेर पुग्छ त? अझै तिमीले धेरै पढ्नु पर्छ, बिए एमए पढ्नु पर्छ।"

"सर, मेरो काठमाण्डौ गएर पढ्ने हैसियत छैन। जति सको छिटो एउटा जागिर खोजेर खानु छ। सरले मलाई एउटा जागिर जसरी भए पनि मिलाईदिनु प-यो। ओखल्ढुंगाको जुनसुकै स्कुलमा पनि जान तयार छु सर।" मौकाको फाईदा उठाउँदै मैले पनि आफ्नो कुरा मज्जाले राखेँ। मैले कुरा सक्ता नसक्तै हेडसरले भन्नु भयो "मैले पनि यिनलाई काठमाण्डौ गएर अरु पढ्ने सल्लाह दिएको। यिनको घरको स्थिति पनि राम्रो छैन। अब अरु पढ्न सक्तिन, माष्टरको जागिर खोजेर खान्छु भन्छन्। एसएलसी सम्म पनि मैले नै फी मिनाह गरीदिएको थिएँ र पढ्न पाए। खै अब कसरी पढ्छन्?"। हेडसरले मेरो वास्तबिकता भनिदिएर मलाई नै सजिलो पार्दिनु भयो। हेडसरको कुराले जिशिअसर पनि अलिक सिरियस हुनुभयो।

त्यतिकैमा चिया पनि आईपुग्यो। चियाको एकसुर्पी तानेर जिशिअसरले भन्नुभयो "त्यसरी लत्तो छाडेर हुन्न भाई। तिमीले अरु धेरै पढ्नु पर्छ जसरी भए पनि। केहि न केहि उपाय निकाल्नै पर्छ।"
"हो त नि जिशिअसर। यस्तो राम्रो पढ्ने छोरा मेरो भैदेको भा त म के के पो पढाउँथेँ! आफ्नो चाहिँ स्वाँठ! बल्लबल्ल पास हुन्छ" अर्को एकजनाले आफ्नै छोराको दुखेसो पोख्यो।

"अनि यी भाईको बाउआमाले यस्तो राम्रो पढ्ने छोरालाई पनि काठमाण्डौ पठाउँदैनन् त पढ्न?" जिशिअसरले अचम्म मान्दै सोध्नु भो "के काम गर्नु हुन्छ भाई वुवा?"

"मेरो बुबा नै हुनुहुन्न सर, म सानो हुँदा नै बित्नु भको"।

"अनि परीवारमा को को छन्? के गर्नु हुन्छ नि आमाले?"

"आमा, एकजना भाई र एकजना बैनी। आमा खेतिकिसानी गर्नु हुन्छ। भाईबैनी रामपुरमा पढ्दैछन्।"

"हेर भाई, पढ्न छाड्ने कुरा नगर। यस्तो राम्रो पढ्ने मान्छे तेसै माष्टरको जागिरमा अल्मलिएर हुन्छ, फेरी यो सानै उमेरमा। काठमाण्डौ गएर कि एड पढ कि आर्ट्स पढ।" डाक्टर ईञ्जिनियर पढ्न चाहिँ धेरै खर्च लाग्छ। तिम्रो घरको अवस्था पनि कमजोर रहेछ। फेरी गाँउठाँउमा पढेका मान्छेलाई पास गर्न पनि गाह्रो हुन्छ, सबै अंग्रेजीमा पढाई हुन्छ। डाक्टर ईञ्जिनियर पढ्न त हाईस्कुलनै काठमाण्डौ गएर बोर्डिङगमा पढ्नु पर्थ्यो। मेजर म्याथ र ईङलिस राखेर बिएड ग-यौ भने भोलीपर्सी यस्ता माष्टरका जागिर त कति पाउँछौ कति? म जस्तै जिशिअ पनि हुनसक्छौ"। उहाँले मेरो समस्या बुझेर पनि नबुझेझैँ गरी आफ्नै कुरा मात्र राख्दैजानु भो। 'अहा, म जिशिअ पनि हुनसक्छु? रामराम! यत्रो ठूलो मान्छे बन्न पनि सक्छु?' म भित्रभित्रै छक्क परेँ, सपनाको पनि सपना जस्तै लाग्यो। तर पनि केहि नभनि चुपै लागिरहेँ।

"जिशिअसरले ठीक भन्नु भयो। यस्ता तगडा केटाहरु त थपक्क काठमाण्डौ गएर राम्रो बिषय लिएर पढ्न छोडेर के जागिर खोज्ने कुरा गरेको नि भाई" अर्को एकजना जान्ने पल्टेर बोल्यो। सायद मेरो बास्तबिकता बुझेर कुरा गर्नु भन्दा जिशिअसरको कुरामा अन्धो समर्थन गर्नु नै उस्को लागि फाईदाजनक थियो होला, प्रमोशनको कुरा पो थियो कि?

हेडसर केहि पनि बोल्नु भएन, चुपलागेर कुरा सुनि मात्र रहनु भयो। सबैजनाले एउटै कुरा गरे, उनीहरुकै कुरा मात्र गरे, कसैले सुनेन मेरा कुरा। जिशिअसरले नमाने पछि त मेरो माष्टर बन्ने सपना अधुरै हुने भयो। मन दरो पारेर अन्तिम एकपटक कोशिष गर्नु पर्यो भन्ने सोची भने "सर, म काठमाण्डौ गएर पढ्न सक्तिन। घरको स्थिति नै त्यस्तो छ। मलाई एउटा माष्टरको जागिर मिलाईदिनु होला। म ओखल्ढुंगाको जुनसुकै स्कुलमा पनि गएर पढाउँछु।" अब भने जिशिअसर मँसग रिसाएको जस्तो मानेँ मैले। टाउको नहल्लाईकन आखामात्र यताउता घुमाएर चस्मालाई अलिक तल नाकको टुप्पोमा पु-याउँदै भन्नुभयो "हेर भाई, तिमी तुरुन्त काठमाण्डौ जाउ। दुख गर। ईटा बोक। कुल्ली काम गर। राती पढ्न पनि पाईन्छ काठमाण्डौमा। दिउँसो काम गर, राति राती पढ। जे गर्न सक्छौ त्यहि गर र बिएड गरेर आउ। म तिमीलाई जागिर ठीक्क पारेर राखौँला। अहिले नै त तिमीलाई म ठाँउ खाली भए पनि दिन्न जागिर।" अब चाहिँ मैले केहि बोल्नु ब्यर्थ थियो। मनमनै रीस पनि उठ्यो। फेरी नराम्रो सल्लाह पनि त दिएको हैन नि भन्ने पनि सोचे कताकता। धेरैबेर उनीहरु अरु के के गफ गरे, म सुनिरहेँ। छेउमा बसेर। "सरहरु म जान्छु अब, साथिहरु मलाई कुरीरहेका होलान्" सबैलाई नमस्कार गरेँ। "ल भाई, अन्त कतै मन नडुलाईकन काठमाण्डौ गएर धेरै पढेर आउ, म जागिर खोज्दिउँला तिमीलाई। अहिले जाउ" जिशिअसरले फेरी उहि कुरा दोहोर्याउनु भयो। "हवस्" भनेर बाटो लाग्नु बाहेक म के नै भन्न सक्थेँ र? जिशिअसर र हेडसरबाट नै हो आस गरेको, दुबैजना सँगै भको बेलामा पनि केहि उपाय नलागेपछि त मैले मन मारीसकेँ।
क्रमशः
 
Posted on 03-22-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटाभरी अनुमानको काठमाण्डौको मात्र कुरा खेल्यो मन्मा? 'कस्तो होला काठमाण्डौ? म काठमाण्डौ गएँ भने कसरी पढ्ने होला?' धेरै अनुमान पनि गरेँ, ठाँउको अनि मैले गर्नु पर्ने सँघर्षको। बेलुका आमालाई सबैकुरा भने। म यहिँ बसेपनि माष्टरको जागिर खान नसकिने जस्तो लागेको कुरा गरेँ। सबैले काठमाण्डौ गएर धेरै पढ्न मात्र सल्लाह दिएको कुरा पनि गरेँ। 'त्यतिकै यहाँ बस्नु भन्दा त काठमाण्डौ जान्छु, दुख गर्छु, पढ्न सकेँछु भने पढ्छु सकिनछु भने पनि एकदुईपैसा कमाएर ल्याउँछु' भन्ने आसयको कुरा पनि गरेँ आमासँग।
मेरा यी काठमाण्डौ जाने भन्ने कुराले हो या किन हो, आमाले त्यो दिन साह्रै पीर गर्नु भयो "छोरा, अब तँ पनि हिडिस् भने त हाम्रो यहाँ पनि बिजोक हुँदो हो? मैले गर्न सकिन भने त हामी पनि भोकभोकै मर्छौँ होला! के खाएर बस्छन् यिनीहरु पनि? पढाई पनि छुट्दो हो। झन् तेरो त कस्तो कन्त बिजोक हुँदो हो त्यो पराया ठाँउमा। न आफ्ना नातेदार कोहि छ, न त एकदुई पैसा नै दिएर पठाउन सक्छु म तँलाई। खान नपार नेपालको सडकमा लम्पसार पर्दा पनि कसैले तँलाई हेर्दैन होला। शहरिया मान्छेहरु त हामी गाँउले जस्ता दयावान् हुँदैनन् छोरा। उनीहरुलाई त केबल धनको मात्र लोभ हुन्छ, आफ्नो मात्र स्वार्थ हुन्छ। बरु हामी यहाँ त मरिउँ भने पनि गाउँले मिलेर अन्तिम कार्य त गरिदेलान् कमसेकम, त्यो शहरमा त वल्लोघर पल्लोघरका मानिसहरुको पनि चिनचान बोलचाल हुन्न रे!"

उहाँले मनका कुरा भन्दैजानु भयो "म त यस्तै कर्मलिएर जन्मेकि, जे लेखेको छ त्यहि हुने त हो नि। बाँचुन्जेल दशनंग्रा ख्याउँछु, सक्न छोडेका दिनबाट म बुढिको के नै काम छ र यो सँसारमा? तर तिमीहरुको कन्तबिजोक हुने भो। यी साना भाईबैनीको बिजोक हुने भो। तिमीहरुका बाउले छोडेर गए मेरो जिम्मामा। मैले तिमीहरुलाई केहि दिन सकिन। मैले केहि गर्न सकिन छोराछोरी हो। मलाई गालि नगर है!" यति भन्दा भन्दै आमा आफैँ रोईरहनु भको थियो। भाईबैनी पनि चुपलागेर हामी आमाछोराका कुरा सुनिरहेका थिए। उहाँको भक्कानिएको बोलीले मलाई अति नै नरामाईलो लाग्यो। यसो सोचेँ 'यत्रो पढे पनि अलिकति कमाई गरेर आमालाई एउटा खदरको फरिया किन्न सकिन, त्यहि दश ठाँउमा जोडेर आफैँले सिलाएको लगाईरहनु भएको छ। म जान्ने भएदेखि आमाको जीउले एउटै पनि नयाँ चोलोको अनुहार देखेको छैन, त्यहि टाल्दा टाल्दा बाक्लो भैसकको थोत्रे चोलो नै लगाउनु भको छ। चप्पलको कुरा त परै जाओस्, पटुका पनि फाटेका खोललाई जोडेर बनाउनु भको छ। मैले बरु आलु बेचेर केहि कपडा किनेर लगाएँ, भाईबैनीलाई पनि यसो हेर्नु हुने कपडा किनिदिएँ। तर आमाले कहिले पनि यो चिज किनेर मलाई ल्याईदे छोरा भनेर भन्नु भएन। हामीले खाँदा नै उहाँ अघाउनु भयो, आफू खाली पेट बसेपनि। हामीले लगाउँदा नै उहाँले न्यानो महसुस गर्नुभयो, आफू नांगै भएपनि। हाम्रो खुशिमा रमाउनु भयो, आफ्नो दुखलाई दबाएर। आफ्नो पुरै जीवन दुखमा काट्नु भयो, हामी छोराछोरीका लागि।' मलाई भित्रैबाट भक्कानो छुटेर आयो। बोल्न पनि नसक्ने भएँ। जुरुक्क उठेर सुत्न गएँ, केहि पनि नबोलि।

सुत्दा सुत्दै अठोट गरेँ 'अब चाहिँ मैले दुईचार पैसा कमाउनु पर्छ, जसरी भए पनि। यहाँ जागिर नपाउने भएपछि म यहाँ बसेर केहि काम छैन, कतै केहि पार पनि लाग्दैन। म काठमाण्डौ नै जानु पर्छ र केहि गर्नु पर्छ। म हिँडेको केहि समयसम्म नराम्रो लाग्छ आमालाई, भाईबैनीको पनि पढाई छुट्छ होला। तर पनि मैले केहि त नगरी भएकै छैन। छिट्टैनै केहि काम गरेर अलिअलि भएपनि पैसा कमाउन सकेँ भने त सबै कुरा राम्रो हुँदै जान्छ नि। जिशिअ सरले भनेजस्तो दिँउसो काम गरेर राति पढ्न पाएँ भने त दुबैतिर पो काम बन्छ त!' म निकै एकोहोरो किसिमले आमाको कुरा पनि नसुनि काठमाण्डौ जाने निर्णय गरेँ। म यति धेरै निश्चित थिएँ कि मलाई काठमाण्डौ जान कसैले रोक्न सक्तैनथ्यो। तीन दिन ओखल्ढुंगा धाएर नागरिकता बनाएँ। यताउति खोजखबर गरेर काठमाण्डौसम्म पुग्नको लागि २५० रुपैँया जम्मा पारेँ। आमाले नमान्दा नमान्दै पनि रामपुरमा सँगै पढेका साथी डम्मर कार्की र हेम राईसँग २०४८ साल असौज ४ गते काठमाण्डौ जाने निधो गरेँ। त्यस दिन बिहान घनश्यामसरकोमा पनि निस्केर रामपुर स्कुलको चौतारोमा भेटेर काठमाण्डौ हिड्ने सल्लाह भयो।

साझाल्याण्ड
८ चैत्र, २०६२
 
Posted on 03-22-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhagwan sadai haami sanga huna nasakne vayako le AAMA banayako ho ni. Again amazing.. loved it. Ani aba Kathmandu jane hai..
 
Posted on 03-22-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चमेलीजी,

काठमाण्डौ जान लागेको छु। तपाईँ पनि तेतैतिरको हो भने यसो भेटघाट गरौँला नि! :)

---
ओके
 
Posted on 03-23-06 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey hey hey.....been here for a while now..and i seem to see this thread resurface every once in a while. Could i pls have a synopsis pf the whole tale? That wud be so very kind. hehe....thank you already..whoever it is.

gone with the wind..
 
Posted on 03-23-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK ji great story. yeso book publish garnusna kya. hami lai sajilo huncha tapai ko story padna. adhii adhi gari parda ali khallo bho kya :)
 
Posted on 03-26-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I've been following this story ever since you posted the first part here. I enjoy it very much and i really hope one day it'll come out as a book.

For now, is it possible for you to put your story together as a pdf file and upload it to sajha so that it will be easier for everyone who's interested in reading it? That way you just have to download one file which can be read offline as well.

If you dont have time to do all that, I am willing to do it myself. I just thought I should get your permission before I do anything. I'll go thru all the threads and create one pdf file with whatever you have posted so far and I'll continue updating the pdf file every once in a while as you post more. So please do let me know if this is something you would be interested in. I can even put the file in my site if space is an issue.

And thanks for posting such a beautiful story. Personally, i HATE reading books/long articles/stories but ever since i started reading this story, im hooked! i actually wait eagerly and check sajha almost everyday to see if you posted the next part.. thanks again
 
Posted on 03-26-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,
यो भाग १ को अन्तिम खण्ड रहेछ, भाग २ पनि छिट्टै नै शुरू गरौं है! अत्यन्त मार्मिक एवं प्रेरणादायी छ तपाईको कथा।
 
Posted on 03-26-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Scarlett,
Thanks for reading my story. In summary, it is an social story supported by an unexpressed love. The story depicts all the struggles by an economically deprived village boy, OM, for his education at an extremely rural eastern Nepal. OM has encountered to a number of hardships from early childhood but managed to overpass by the tireless efforts of his mother and himself. At a time when it is almost impossible to go ahead, a more economically privileged and intelligent girl in an educated family, MANJU, knows about his difficulties and offers supports to OM. OM stays in MANJU's house to fulfill his educational dreams. There are another kinds of ups and downs due to the then socio-political culture. Till now, OM has been successful to complete SLC exam with good marks. He is leaving for KTM with bare hands for higher education or earning for hand-and-mouth or both. Lets see whether he is able to manage to fulfill his dreams in KTM and whether he meets MANJU again.

uptowngal,
Thanks for your suggestion for publishing in the form of a book. I am thinking for the same, but let me compete the story first.

Sunko_lota Jee,
Thanks for your interest for combining these pieces to form a pdf file. I am doing the same but at the same time, I am also modifying the contents to make the whole story consistent, unlike current inconsistencies among different posts. Once I finish, I will post the compete story here.

World_map,

Thank you. I will post PART II once I get some free time to write.

---
OK
 
Posted on 03-26-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chadai suru garnus hai ta OK ji Manju ko second part pani .
 
Posted on 04-13-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण साझाबासी साथीहरुलाई नयाँ वर्ष २०६३ को शुभ-कामना।

मैले त जनआन्दोलनमा घाईतेहरुको उपचार कोषमा सहयोग गरीसकेँ, तपाईँले नि?

नेपालमा चलिरहेको जनआन्दोलनको पूर्णसफलता (Democratic Republic of Nepal) को कामना सहित मेरो कथाको अर्को भाग- ओके

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ३५
२०४८ साल असोज ४ गते बुधबार। आज म मेरो जीवनको नयाँ यात्रा तय गर्दैछु। कहिल्यै नदेखेको र नभोगेको ठाँउमा जान लाग्दैछु म। न त गएको दिन बेलुका सुत्ने कुनै ठाँउको ठेगान छ, न त कोहि चिनजानको आफन्त नै। न त आफूसँग यसो एकदुई दिन खान पुग्ने पैसा नै छ, न त अबर परेको बेलामा यसो ओतलाग्ने ठाउँको ठेगान नै। तर नगैकन पनि भको छैन र मैले जानै पर्छ। मैले जानु मात्र हैन, केहि न केहि गर्नै पर्छ। अन्य कुनै उपाय नै छैन। मैले अठोट गरीसकेको छु, केहि गर्ने र केहि गर्नै पर्ने। अब पनि मैले केहि नगर्नु भनेको म मात्र नभएर मेरी आमाको आसालाई निरासामा बदल्नु हो, मेरा भाईबैनीको पढ्ने ईच्छालाई मार्नु हो, अझ भन्ने हो भने कहालीलाग्दो गरीवीमा सधैँ पिल्सिएर जीवनभरी अभावमै समयकाट्नु हो।

झिसमिसमै उठेँ। भाईबैनी सुतिरहेका थिए। म काठमाण्डौ हिड्ने भनेर उनिहरु आज स्कुल नजाने कुरा हिँजै गरिसकेका थिए। म उठ्नुभन्दा अगाडि नै आमा उठेर मलाई पठाउन भनेर सामानहरु पोको पार्दै हुनुहुँदो रहेछ। हिँजो सुत्ने बेलामा आमालाई ‘म भोली एकाबिहानै बाटो लाग्छु है’ भनेको थिएँ। आमाको मन न हो, नचिनेको र नजानेको ठाँउमा जान लागेको छोरालाई सकेसम्म धेरै सामानहरु पठाउन पाए केहि दिनलाई मात्र पुगेपनि मनमा सन्तोक लाग्ने नै भयो। चारमाना गुन्द्रुक, एकपाथी आलुका मस्यौरा, चारमाना घ्यु, चारमाना जति भुटेका भटमास र मकै, एक बट्टा अमिलो, एकमाना जति टिम्मुर हालिदिनु भएछ, त्यहि सिमेन्टको प्लाष्टिकलाई काटेर बनाएको झोलामा। झोलाभरि टन्नै भयो सामान।

उठेर गोठको धन्दा गरेँ। तारीगाई दुहेर घाँस हालेँ। पेटारी बाख्रोका आमाछोरालाई पनि घास झुण्डाईदिएँ, एकैठाँउमा। मिलीमिली घाँस खान थाले। घरको पछाडिपट्टीको डिलमा निस्केर यसैबर्ष बिराएर धान रोपेका तीन सुर्का खेतलाई हेरेँ। धान फूल्नै लागेको रहेछ। घर मास्तिरको पछौटे मकैबारीभित्र रोपेको भर्खरै गोडेको कोदोमा पनि नजर पुग्यो। घरैछेउको जँगलतिर पनि मन गयो। चराहरु चिरिंगविरींग गरेर बिहानीको आभास दिँदै थिए। यसपालीको बर्षामा आफैँले लगाएका स्कुस र काँक्राका लटरम्मै फलेका झ्यांगहरुमा पनि आँखा प-यो। गाँउवरिपरिका डाँडाकाँडाहरुलाई हेर्दै एकछिन टोहोलाएँ पनि। आज म यी सबैलाई छोडेर बाटो लाग्दैछु, कहिल्यै नदेखेको बाटो। मैले आज मेरो घरपरिबार छोडेर हिड्दैछु, कहिल्यै नभोगेको बाटो। आज म मेरो प्यारो ठाँउलाई छाड्दैछु, रहरले हैन परिस्थिति अनि बाध्यताले।

आमाले मेरो लागि भनेर खाना पनि पकाईसक्नु भएछ, चामलकै भात। दशैँलाई भनेर जम्मा पारेका चामल नै प्रयोग गर्नु भएछ। भाईबैनी पनि उठे। म हिड्ने कुराले हो कि दाजु हिडेपछि पढ्न नपाउने कुराले हो, दुबै खिन्न जस्ता देखिन्थे। सायद दुबै पनि हुनसक्छ। आमाले भात पस्केर मलाई दिँदै भन्नुभो “छोरा, दशैँ नजिक आँउदैछ। परदेशमा भएका फर्केर आफ्नै घर आँउछन् दशैँमा। तँ चाहीँ हिड्न लागिस्। अब तँ ठूलो भैसकिस्। तैँले गर्न आँटेको काममा म तगारो हाल्दिन। आफ्नो जीउको ख्याल गर्नु! गारोसारो केहि परे फर्केर आउनु। यहाँ घर छँदैछ। दुःख गरेर भएपनि सँगै बसौँला”। आमाबाट यस्ता अर्तिहरु बर्सिनै रहे, मैले खाउन्जेल। खान मन त काँहा लागेको थियो र, तर पनि कोशिष गरेँ, खाए जस्तो गरेँ। बोल्न पनि मन लागेन। आमाले भनेका सबैकुराहरुमा सहर्ष स्बिकृतिको टाउको हल्लाएर उहाँलाई आज्ञाकारी छोराको आभास दिएँ। आमाका नजरमा आफ्ना छोराछोरीहरु जतिनै ठूला भएपनि सानै लाग्छन्। म पनि मेरी आमालाई सानै भन्ने सोची “अब म ठूलो भैसकेँ। मेरो चिन्ता नलिनुहोला” भन्दै म ठूलो र सक्षम भैसकेको कुरा गरेँ ताकी उहाँलाई मेरो कम चिन्ता लागोस्। भाईबैनी पनि नबोली छेउमा बसिरहे, कुरा सुनिरहे। “म काठमाण्डौ पुगेर पैसा कमाउन सकेँछु भने छिट्टै पठाउँछु। सकेसम्म भाईबैनीले पढ्न नछोड्नु” भाईबैनीलाई अर्ति पनि दिएँ। तर आफैँलाई थाहा छैन, काठमाण्डौ गएर म पैसा कमाउन पनि सक्छु कि सक्तिन।
क्रमशः
 
Posted on 04-13-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झोला बोकेर म बाटो लागेँ। हिड्ने बेलामा मेरा आँखा फल्दैगरेका काँक्रामा परे। आमाले मेरा आँखा हेरीरहनु भएको रहेछ। मैले काक्राका झेलमा आँखा लगाउने बितिक्कै बोल्नुभो “ए पख् पख्, बाटामा तिर्खा लाग्छ, यो काँक्रो बोक त झोलामा। यत्रो दुःख गरेर रोपिस्, मलजल गरिस्, खान पनि नपाईकन हिड्न लागिस्”। आमाले एउटा काँक्रो टिपेर दिनुभो। झोला त निकै गरुंगो भैसकेको थियो, तर पनि आमाले हिड्ने बेलामा भनेको कुरा काट्न सकिन र काँक्रो समाए। “छोरा, तँलाई केहि गारोसारो प-यो भने घर सम्झेर फर्केर आईज। सकेसम्म छिटो तेरो खबर पठा है। काहाँ जान्छस्? के खान्छस्? सुनेर भएपनि हामी चित्त बुझाउँछौँ नि!” विदाईको बेदना मिसाएर बोलिएका यी बोलीहरु मेरा लागि धेरै पछिसम्म पनि आमाको सम्झनासँगै कानमा गुञ्जिरहे। तलको वरपिपल चौतारोमा पुगेर फर्केर हेरेँ, आफ्नो घरलाई। अनि सरासर बाटो लागेँ।
बिहानको १० बजे स्कुलको चौतारोमा भेट्ने कुरा थियो, डम्मर र हेमसँग। घरश्यामसरको घरमा निस्केर जाने कुरा पहिले नै मञ्जुले मलाई मनाईसकेकी थिईन्। म हिड्दा, छ्यांग्गै उज्ज्यालो भैसकेको थियो। हतारहतार नै पाईला चालेँ। बिहानको नौ जति भएको हुँदो हो, घनश्यामसरको घरमा म पुग्दा। म आज आउने कुरा घनश्यामसरका घरका सबैलाई थाहा थियो। मञ्जु बहिरको खाटमै बसेर पढिरहेकी रहिछिन्। म त्यहाँ पुगेको देखेर मञ्जु हत्त न पत्त उठीन् र भनिन् “ओमदाई पनि आईपुग्नु भयो!”। उनले पढ्दै गरेको कितावलाई बन्द गरेर सिरानीमुनि राखिन्। बोकेको झोलालाई बाहिर खाटैको एकछेउमा राखेँ मैले, मञ्जुले थेगिदिईन्। “ओमदाई, निकै पो ठूलो छ त झोला, के-के बोकेर हिड्नु भो हँ तपाईँ?” मेरो झोलामा थोरै समय र मेरो अनुहारमा बढि समय खर्चेर भनिन् मञ्जुले। "खै आमाले के-के के-के हालिदिएर गह्रौँ नै भको छ" मैले पसिना पुछ्दै मञ्जुको अनुहार पढेँ। एसएलसी सकेर हिड्दाको जस्तो धेरै पीर गरेको जस्तो लागेन मञ्जुले। सायद समय बित्दै जाँदा भुल्दै गईछिन् क्यारे। अथवा विचविचमा भईरहेका भेटघाटले 'भेट त भैहाल्दो रैछ नि’ भनेर ढुक्क मानेकी पनि हुन सक्छिन्। मञ्जुको ममी पनि भित्रबाट निस्कँदै भन्नुभो "ल बाबु त कति छिट्टै आईपुगेछन्, आमालाई सन्चै छ बाबु?"। मञ्जुको ममीलाई नमस्कार गर्दै भनेँ “सबैलाई सन्चै छ”। “अनि सर हुनुहुन्न कि क्या हो?” मैले घनश्यामसरको चालचुल नदेखेर सोधेँ। “बाबा, तलामाथि हुनुहुन्छ, म बोलाउँछु है?” मेरो कुरा पनि सबै नसुनि मञ्जु कुद्दै भित्र बसिन्, घनश्यामसरलाई बोलाउन। घनश्यामसर पनि तलामाथीबाट झर्नुभयो। हर्के पनि घाँसबाट आईपुग्यो। घरबाहिरको खाटकै छेउमा कोहि बसेर र कोहि उभिएरै धेरै किसिमका गफगाफ भए।
घनश्यामसरले काठमाण्डौमा उहाँका सालाको ठेगाना पनि लेखेर दिदैँ भन्नु भयो “केहि गाह्रोसारो परे, मञ्जुका मामालाई यो फोन नंम्बरमा कन्ट्याक्ट गर्नु”। फोन भन्ने कुरा चाहीँ सुनेको थिएँ अलिअलि, तर कसरी गर्ने र के गर्ने भन्ने कुरा चाहीँ थाहा थिएन। घनश्यामसरले मञ्जुका मामाको बारेमा पनि अलिअलि बताउनुभयो। उनका मामा परराष्ट्रमन्त्रालयमा अधिकृत रहेछन्। पुरानो बानेश्वरमा घरै बनाएर बसेका छन् रे। “ओमदाई, मैले मामालाई चिठ्ठीलेखेकि छु लगिदिनुस् है, अनि अर्को बर्षबाट भाञ्जी पनि काठमाण्डौमा पढ्न आउने रे भनेर सुनाईदिनु होला” मामाको कुरा गर्नासाथ मञ्जुले मुसुक्क मुस्काउँदै बोलिन्। “भैहाल्छ नि, तर खै घर नै पत्ता लगाउन सक्छु कि सक्तिन?” आफूले नजानेको ठाँउको बारेमा निश्चित नभएपनि मञ्जुले भनेको मैले नाई भन्ने कुरै थिएन। मञ्जुको ममीले पनि भाईलाई भनेर अलिकति कुराउनी र अमिलो ठीक्क पारिदिनु भएको रहेछ। हामी सबैजनाले खाना खायौँ। मञ्जुको ममीले मलाई समेत भात पकाउनु भएकोरहेछ। हुनत मैले घरमा नै खाएर हिडेको थिएँ, तरपनि सबैको करले मलाई केहि गाँस खान बाध्य बनायो। भात खाँदा पनि काठमाण्डौकै गफभए। घनश्यामसरले करेन्टबाट र बाटो काट्दा पु-याउनुपर्ने ख्यालको बारेमा मलाई बताउनुभयो।
दश पनि बज्नै लाग्यो। मेरो पनि साथीहरुलाई भेट्ने समय हुनलाग्यो। हिड्ने बेलामा घनश्यामसरले रु ५०० दिनुभयो। मैले समाउन नमान्दा नमान्दै पनि “आपतमा काम लाग्छ” भन्दै कर गर्नुभयो। घनश्यामसरसँग बिदा मागेँ। मञ्जुको ममीसँग पनि बिदा मागेँ। हर्केसँग पनि। मञ्जु पनि “म पनि ओमदाई सँगै स्कुलसम्म जान्छु” भनेर मसँगै हिडिन्। बाटोमा चाहीँ मञ्जुले अलिक पीर गरिन्। तर पनि “म अर्को बर्ष काठमाण्डौ आँउछु, अनि सँगै पढ्ने” भनेर उनी आफैंले आफ्नै चित्त बुझाईन्। मैले पनि उनको कुरामा सहि थपेँ “अब एक बर्षपछि त तिमी पनि आईहाल्छेउ नि काठमाण्डौ”। स्कुलको चौतारोमा मञ्जु र म पुग्दा डम्मर कार्की र हेम राई पहिल्यै आएर बसिरहेका रहेछन्। अरु साथीहरुको छेउमा लाज लागेछ क्यारे, मञ्जु पनि “म गएँ है, राम्ररी जानुस् काठमाण्डौ” भनेर बिस्तारै परैबाट बिदा भईन् र स्कुल भित्र पसिन्। बाईबाई पनि विस्तारै गरिन् कसैले नदेख्ने गरेर, तर मैले त देखि गएँ नि। हामी तीनजना पनि बाटो लागेउँ।
क्रमशः
 
Posted on 04-13-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटोमा पनि जे पायो त्यहि गफ भए। उरेन्ठेउला ठेट्ना केटाहरु बाटो हिड्दा कस्ता गफ हुन्छन्, त्यस्तै भए। मञ्जुसँगै स्कुलसम्म आएको देखेर केटाहरुले मलाई जिस्काए पनि। “त्यो केटी (मञ्जु) त ठीक छ यार। राम्री पनि छे। जात मिल्ने भए मै बिहे गर्दिन्थेँ। ओमे तैँले त बिहे गरे हुन्छ यार। जात पनि मिल्छ। घनश्यामसरकी एक्ली छोरी, घरज्वाईँ नै बसे पनि हुन्छ” हेमलाई पनि उछिन्दै डम्मरेले फष्ट गर्यो यस्ता कुरा गर्न। “म पनि बेरलाउदिनथेँ, जात मिल्ने भए त। त्यस्तो राम्रो शिलस्बभाव भकि केटी पाए कस्ले बिहे नगरोस्। ल ओमे तेरै दिन छ।” हेम पनि के कम, राईको छोरो न प-यो। केटाहरुले म र मञ्जुका बारेमा यस्ता कुरा गर्दा मञ्जुको हँसिलो अनुहार आँखामा नाच्थ्यो। कुरा मात्र गर्दा पनि मख्ख पर्थेँ। मनमनै खुशि लागे पनि बाहिर चाहिँ देखाउन चाहिन। “मलाई मञ्जु मन परेको कुरा कसैलाई पनि थाहा नहोस्” भन्ने लाग्थ्यो। “न जिस्काउन केटा हो। मञ्जुले मसँग के बिहे गर्थिन्?” आफूलाई अति नै मन परेपनि मञ्जुले मसँग बिहा गर्न मान्छिन् जस्तो कहिल्यै लागेन। “मेरो सम्पूर्ण आन्द्राभुँडि नै थाहा पाईसकेकी थिईन् मञ्जुले। उनीबाट लुकेको कुनै कुरा वाँकी थिएन। अनि पनि मसँग मञ्जुले बिबाह गर्न मान्नु भनेको त अचम्मको कुरा भैगो नि” मनमनै गुन्थेँ।
पानी धारा भको ठाँउमा एकैछिन बसेर मैले बोकेको काँक्रो, डम्मरेले ल्याएको आलुका भुटेका चाना र हेमले बोकेका उसिनेका स्कुस खायौँ। अनि फेरी बाटो लाग्यौँ।
हामी तीनैजना काठमाण्डौ हिडेको पहिलो पटक थियो। डम्मरकी दिदी र भिनाजु पनि काठमाण्डौको जोरपाटी भन्ने ठाँउमा छन् रे। ठेगाना र फोन नंम्वर पनि टिपेर ल्याएको रहेछ डम्मरेले। हेमको चाहीँ कोहि पनि चिनेको मान्छे छैन रे काठमाण्डौमा। एउटा गाँउको चिनजानको छाउनीमा आर्मी छ रे। उसको पनि फोन चाहिँ बोकेर हिडेको रहेछ। तर “फोनमा बोलाई दिन्न रे गाँठे” भन्यो।
त्यसदिन बेलुका हामी बलौटे भन्ने ठाँउमा बास बस्यौँ। भोलिपल्ट बेलुका कटारी पुगेर कटारी-काठमाण्डौ रात्रीसेवाको लालीमा यातयातको टीकट काट्यौँ, पर्सिपल्टको रातीको लागि। एउटा मात्र बस चल्थ्यो, त्यसबेला कटारी-काठमाण्डौ। त्यसदिनको त सबै बुकिंग भैसकेको रहेछ। फेरी हामी आईपुग्ने बितिक्कै त्यस दिनको बस पनि छुटिहाल्यो। एउटा टिकटको रु १२० रुपैँया लाग्यो। त्यतिखेरसम्ममा मेरो २०० रुपैंया सकियो। अब मसँग घनश्यामसरले दिएको ५०० रुपैंया र आफूसँग बाँकी रहेको ५० रुपैंया गरेर ५५० रुपैंया बाँकि थियो। खाना चाहिँ त्यहि घरबाट ल्याएका मकै-भटमास खाँदै बस्यौँ। बस देख्ने बितिक्कै मलाई त डर लाग्यो। “त्यस्तरी कुद्दा भिरबाट खस्यो भने?” मेरो आङ नै सिरंग भयो।
पर्सिपल्ट बेलुकाको बसमा हामी तीनजना सिट नं ७, ८ र ९ मा बस चढ्यौँ। अघिल्यै दिन टिकट काटेकोले राम्रै सिट पायौँ। हेम र डम्मर सँगै बसे, अगाडिको ७ र ८ नंम्वर सिटमा। म पछाडिको झ्यालछेउकै ९ नंम्वर सिटमा बसेँ। बेलुकाको ४ बजे बस कटारीबाट हिड्यो। सुरुमा बस चढ्दा डर-डर लागेको थियो, कतै लगेर लडाईदिने हो कि भनेर। तर कजवेहरुमा तल र माथी गर्दा त क्या मज्जा पो आयो, लिंगेपिङ खेलेजस्तो।
“आहा, क्या रमाईलो!” डम्मर कार्कीले ठूलै आवाज निकालेर खुशि ब्यक्त ग-यो। बसमा भएका अरु मानिसहरुले डम्मरेलाई हेरे।
अर्को कजवेमा बस पुग्यो। “मलाई त पिंग खेलेजस्तै लाग्यो” हेमले अति खुशि भको छनक दियो।
“मलाई त के गनायो यार। वाकवाकी लाग्ला जस्तो छ” मैले गाडिबाट निस्केको गन्ध आफूलाई मन नपरेको कुरा सुनाएँ।
“नकारा, क्या मीठो वास्ना आएको छ!” डम्मरेलाई गन्ध मन परेछ।
हामी निकै नै ठूल्ठूलो आवाज निकालेर गफ गर्दै थियौँ। हाम्रो नजिक भएका बसभित्रका मान्छेहरु हामीलाई हेरेर हाँस्तै थिए।
“ए भाईहरु हो, खिर खाए जस्तै मज्जा आयो कि कुराउनी खाएजस्तो?” पल्लो सिटतिरको सुकिलो कपडा लगाएको मान्छेले हाम्रा गफ सुन्दै हामीलाई जिस्कायो। हाम्रो बोलीचाली र लुवाई देखेर उस्ले हामीलाई पाखे भनेर जिस्काएको पनि हामीले बुझेनौँ। नचिनेको मान्छे हामीसँग बोलेको देखेर हामी छक्क प-र्यौँ। एकछिन कोहि पनि बोलेनौँ, चुपचाप बस्यौँ।
क्रमशः
 
Posted on 04-13-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलेर नथाक्ने हामीहरु चुपलागेर किन बस्न सक्थ्यौँ र? डम्मरेले भन्यो “ए केटाहरु हो, मकै-भटमास झिक्। यस्तो रमाईलो बेलामा त मकै-भटमास खाएर मज्जा गर्नु पर्छ”। डम्मरेको कुरा सुनेर पल्लोतिरको सिटमा बस्ने बैनी खित्का छोडेर हास्न थाली। रोक्तारोक्तै खितिति निस्किएको हाँसोले उस्को नाकबाट फूत्त सिगान निस्कियो। हतारहतार ओढ्नेको छेउले पुछि। अब चाहिँ सबै जना हामीलाई हेर्दै हास्न लागि सकेका थिए। उनीहरु किन हाँसे, हामीलाई के थाहा?
“छ्या, मलाई त क्या वाकवाकीलाग्ला जस्तो भाको छ। म त खान्न तिमीहरु नै खाओ खाने भए” मैले उनीहरुसँग मकै-भटमास नखाने कुरा गरेँ। हेमेले मकै-भटमासको पोको फुकायो। उनिहरु दुबैजाना मकै-भटमास खान लागे, तिघ्रमाथी रुमाल फिँजाएर।

“खा न खा ओमे, यस्तो मज्जा लागेको बेलामा त मकै-भटमास खानुपर्छ” डम्मरेले मलाई कर गर्यो। “तिमीहरुनै खाओ। म चाहिँ खान्न” मैले खान मानिन।

बस चुरे पहाड काटेर बाहिरी मधेशतिर लाग्यो। ओरालो लाग्ने बितिक्कै मलाई भमिट हुन सुरु भयो। झ्याल खोलेर भमिट गरेँ। धन्न झ्यालकै सिटमा परेँछु।

“यस्तो मज्जा लागिरको बेलामा छादेर क्या बोर गर्यो यार यो ओमेले” डम्मरेलाई मैले भमिट गरेकोले नराम्रो लागेछ। मैले केहि पनि भनिन। बोल्नै नसक्ने भैसकेको थिएँ।

“ए भाई, मुख छोपेर निदाउने कोशिष गर। पर ढल्केबर पुगेर कागति र भिक्स चकलेट किनेर खानु” मेरो छेउमा बस्ने मान्छेले मप्रति दया देखायो। मैले टाउको मात्र हल्लाएँ, केहि पनि बोलिन। बोल्यो कि भमिट भैहाल्थ्यो। केटाहरु चाहिँ गफ गर्दै मकै-भटमास खाईरहे। उनीहरुले करामकराम मकै-भटमास खाको आवाज बसभरि सुनियो।

“भाईहरु काहाँ सम्म जाने?” म नबोलेको देखेर मेरो छेउमा बस्ने मान्छेले डम्मरे र हेमसँग सोध्यो। म हेर्न नसकेपनि गफ चाहिँ सुनिरहेको थिएँ।

“हामी काठमाण्डौ जाने” हेमले मकै-भटमास चपाउँदै बोल्यो।
“काठमाण्डौ काहाँ?” त्यो मान्छेले फेरी सोध्यो।
“काठमाण्डौ भन्छु, फेरी काहाँ भन्छ यार यो दाई त। काठमाण्डौ भनेपछि काठमाण्डौ नि!” हेमेले त्यो मान्छेले काठमाण्डौ नै थाहा पाको रैनछ भन्ने सोचेजस्तो गरेर जबाफ फर्कायो।
“हैन, काठमाण्डौको कुन ठाँउ भनेर सोधेको नि” त्यो मान्छेले कुरा क्लियर गर्यो।
“थाहा छैन, काठमाण्डौ भनेपछि काठमाण्डौ नि!” डम्मरे जान्ने पल्ट्यो।

त्यो मान्छे पनि चुप लाग्यो। केहि बेरपछि म त भुसक्कै निदाएँछु। बिउझिँदा त बस हेटौँडा पुगेर खान खानको लागि रोकिएछ। सबैजसो मानिसहरु बसबाट झरेर खान खान लागे। हामी तीनजना चाहीँ बसबाट पनि झरेनौँ। “हामीलाई बसले छोडेर हिड्यो भने काहाँ जानु?” भन्ने सोचेर आफ्नै सिटमा बसिरह्यौँ, छोड्दै छोडेनौ। केटाहरुले फेरी मकै-भटमास झिकेर खान थाले। मैले चाहिँ केहि खाईन। त्यतिबेलासम्म मेरो पेटमा भको सबै निस्किसकेको थियो। तरपनि वाकवाकी चाहिँ लागि रह्यो।

बस फेरी हिड्यो। म फेरी निदाएँछु। बिउँझिदा त उज्यालो हुनै लागेको रहेछ। “ल थानकोट आउन लाग्यो” खलासीले कराएर एल्समा निदाएका यात्रुहरुलाई बाटो खालि गर्न अर्डर गर्यो। “काठमाण्डौ आउनलाग्यो दाई?” मैले खलाँसीलाई सोधे। “उ उता हेर्त, झिलिमिली देख्दैनस्?” खलासी आफ्नै काममा मस्त थियो। मैले उस्ले देखाकोतिर हेरेँ। झिलीमिली बिजुली बत्ती नै बत्ती बलेका रहेछन्। मनमनै सोचेँ “ओहो, कति धेरै घरहरु? जताततै बिजुलीबति? काठमाण्डौ त कस्तो रमाईलो पो रहेछ!”। मेरो खुसिको सिमा रहेन, काठमाण्डौ शहर हेर्न पाउँदा। कस्लाई सुनाउँ, कस्लाई सुनाउँ जस्तो लाग्यो। अगाडिको सिटमा डम्मरे र हेमे मस्त घुरिरहेका थिए। दुबैको टाउकाको कपाल तान्दै भनेँ “ए केटा हो, हेर त काठमाण्डौ आईसक्यो, के सुतिरका?”।

केटाहरुले पनि आँखा मिच्दै भने “खै काहाँ हो?” दुबैले एकैपटक भनेछन्।
“उ हेरत, झिलिमिलि बत्ति बलेको” मैले केटाहरुलाई काठमाण्डौ देखाएँ।
“ओहो, कस्तो झिलिमिली” केटाहरुलाई पनि काठमाण्डौ मन परेछ।

बस थानकोटमा एकछिन रोकियो। पुलिसहरु पसेर चेक गरे। बस अगाडि बढ्यो। छ्यांग्ग उज्ज्यालो पनि भयो। हामी झ्यालबाट बाहिर हेर्दै रमाईरह्यौँ।

डम्मरे साईनबोर्डमा लेखेको कुरा पढ्न खोज्थ्यो तर सबै पढ्न भ्याउँदैनथ्यो।
म छाना पनि नभएका मुडुला घरहरु हेरेर छक्क पर्थेँ।
हेम चाहिँ डम्मरे र मैले जता देखायो उतै हेर्दै मख्ख पर्थ्यो।
गाडिहरुले हर्न बजाको हामी सबैलाई मन प-यो, ट्याँट्याँ र टुँटुँ।
“अहा, कति धेरै गाडी!” सिटबाट उठेर बसअगाडका गाडिहरु देखाउँदै डम्मरे करायो।

हेमे र म पनि जुरुक्क उठेर गाडिका ताँती हेर्दै भन्यौँ “आम्मामा, साँच्चै पो रछ। कतिबिधि गाडि!” बसमा भएका सबैजना मरिमरी हाँसे। हामीले तिनीहरु हाँस्नको कारण बुझेनौ। उनिहरु हाँसेको देखेर हामी पनि हाँस्यौँ। बस पुरानो बसपार्कमा गएर रोकियो। हामी पनि हतारहतार बसबाट झरेर झोला बोक्दै काठमाण्डौ शहर हेर्न निस्कियौँ।

साझाल्याण्ड
२०६२ सालको अन्तिम दिन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters