कहिले-कहिले कहाँ-कहाँ रोए प्रचण्ड ? उनी आफैं के भन्छन् यो रुवाइबारे ?
गोली बर्साउने, बम पड्काउने कठोर युद्धका कमान्डर माओवादी अध्यक्ष प्रचण्ड शान्त बैठक र सभामा गला अवरुद्ध पार्छन्, धुरुधुरु रुन्छन् र रुमालले आँसु पुछेर फेरि बोल्न थाल्छन् ।
युद्धका कमान्डर प्रचण्डलाई धेरैले कठोर भन्छन् । तर, प्रचण्डले भने धेरै कार्यक्रममा भनेका छन्, 'म भावुक छु,' कारण खोल्दै उनी भन्छन्, 'युद्धले मान्छेलाई कठोर होइन, संवेदनशील र भावुक बनाउँदोरहेछ ।'
प्रचण्डसँग दुई दशक लामो राजनीतिक यात्रा गरेका माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रचण्डसँगै धेरैपटक रोएका छन् । 'रुनु र हाँस्नु स्वाभाविक मानवीय गुण हो, त्यो मानवीय गुण प्रचण्डमा छ, अवस्थाअनुसार पोखिन्छ,' उनी भन्छन् ।
डा. भट्टराईका अनुसार खासगरी रुने स्वभावले मान्छेको करुणाभाव र संवेदनशीलतालाई अभिव्यक्ति गर्छ । 'बैठक र सार्वजनिक कार्यक्रममा समेत उहाँ रुनुहुन्छ, त्यो उहाँको स्वभावको कुरा हो,' उनको टिप्पणी छ ।
'सम्झना भएसम्म म उहाँसँग दुईपटक रोएको छु,' चुनवाङको सांस्कृतिक कार्यक्रममा प्रचण्डसँगै रोएको स्मरण गर्दै भट्टराई भन्छन्, '०५५ सालमा सम्पन्न चौथो विस्तारित बैठक पहिलाको केन्द्रीय समितिको बैठकमा पनि हामी निक्कै रोएका थियौँ ।'
माओवादीका सचिवालय सदस्य पोष्टबहादुर बोगटी 'दिवाकार' उच्च दायित्वबोध र सरल मानवीय स्वभावका कारण प्रचण्ड रुने गरेको दाबी गर्छन् । 'त्यो उहाँको आवेग हो, त्यो मानवीय गुण नै हो,' दिवाकर भन्छन्, 'कर्तव्यबोधको खास-खास अवस्थामा उहाँको भावना आँसुका रूपमा व्यक्त हुन्छ ।'
'जनयुद्ध सुरु भएपछि ०५३ सालमा रोल्पा, रुकुम, जाजरकोटमा प्रशिक्षण भ्रमणमा म र प्रचण्ड सँगै थियौँ,' नेता दिवाकरले पहिलोपटक प्रचण्ड रोएका सम्झँदै भने, 'त्यसवेला रोल्पामा एक महिला कार्यकर्ताले संघर्षको गाथा सुनाउँदा प्रचण्ड रुनुभयो । उहाँलाई मैले पहिलोपटक रोएको त्यहीँ देखेको हुँ ।'
क्रान्तिको पीडा क्रान्तिकारीलाई
थाहा हुन्छ : प्रचण्ड
म सधैं भावुक मात्र बन्ने मान्छे होइन । सधैं रुने पनि होइन । यत्ति हो, म अलि सेन्टिमेन्टल छु । यही 'सेन्टिमेन्ट'ले मलाई कम्युनिस्ट पार्टी र जनवादी क्रान्तिसम्म ल्यायो । जब प्रसंग गरिब जनताको आउँछ, जब प्रसंग जनयुद्धका हजारांै सहिद, हजारौं घाइते र हजारौं बेपत्ता परिवारको आउँछ, बोल्दाबोल्दै गला अवरुद्ध हुन्छ, आँखा रसाउँछन् ।
न्यायका निम्ति आवाज उठाउने जनतामाथि हिजोका शासकहरूले गरेको बर्बर अत्याचार सम्झेपछि, गाउँभरिका दिदीबहिनी बलात्कृत भएको सम्झेपछि, क्रान्तिमा सद्भाव राखेको अपराधमा सिंगै गाउँ जलाएर खरानी पारिएका (घटना) सम्झेपछि, मलाई असैह्य हुन्छ । त्यतिखेर म आँसु थाम्न सक्दिनँ ।
युद्धकालमा हामीमाथि जति दमन भयो, नेपाली इतिहासमा त्यति क्रूर र बर्बर दमन कसैले भोग्नुपरेन । आमाका अगाडि छोरीहरू बलात्कृत भए, बाबु र दाजुलाई बाँधेर चेलीको इज्जत लुटियो । अनि बलात्कृत महिला र उनका आफन्तजनलाई एउटै चिहानमा पुरियो, समाजका त्यस्ता त्रासदीबारे बोल्दा र सुन्दा म मन थाम्न सक्दिनँ ।
म पटक-पटक रोएको छु, कतिले यसलाई नाटक पनि भन्लान् । तर, क्रान्तिको पीडा क्रान्तिकारीलाई थाहा हुन्छ । सहरमा बसेर क्रान्तिको समाचार पढेकाहरूलाई थाहा हुन्न, कस्तो हुन्छ आफ्ना सहयोद्धाहरूको मृत्यु । हिजोसम्म काँधमा काँध मिलाएर लडेको योद्धाको लास छोडेर हिँड्नुको पीडा केवल भोग्नेलाई थाहा हुन्छ । मलाई नाटक गरेको भन्ने पाखण्डीहरू र भ्रष्टचारीहरूलाई जनताको दर्दनाक संवेदनाले कहिल्यै छोएन, जनताले भोगेको बर्बर यातनाले उनीहरूलाई दुःखी बनाएन, जिम्मेवार बनाएन । जनताले भोगेको कथा उनीहरू आफू बुझ्दैनन्, अनि अरूको संवेदनाको पनि मजाक उडाउँछन् ।
हामीले न्याय र समानताका लागि आफ्नो रगतले देशलाई ब्युँझायौँ । हामीसँग असाध्यै धेरै दुःखद् घटना छन् । कहालीलाग्दा घटनाका शृंखला छन् । जुन शृंखलाबाट म अघि बढेँ, तिनै घटना भुल्न सक्छु कसरी ? सम्झँदा आँसु आइहाल्छ । रुकुम माओवादीका जिल्ला सदस्य तथा लडाकु दलका कमान्डर विजय घलेको ०५३ साल पुसमा डोल्पाको त्रिवेणी चौकी 'रेड' गर्दा मृत्यु भयो । घलेको मृत्युले प्रचण्डलाई निक्कै रुवाएको पनि दिवाकरले बिर्सिएका छैनन् । 'उहाँ (घले) का बुबाआमालाई भेट्दा प्रचण्ड निकै रुनुभयो,' दिवाकरले नयाँ पत्रिकासँग भने ।
क्षेत्रीय व्युरो सदस्य तीर्थ गौतम (जो बेथान प्रहरी चौकी रेडको कमान्डिङ गर्दा मारिएका थिए) को मृत्युको खबरले पनि प्रचण्ड रोएका थिए । 'खबर सुन्नुभएछ, जानकारी दिन मलाई फोन गर्नुभएको थियो, कुरा गर्दागर्दै फोनमा रुनुभयो,' दिवाकर सम्झन्छन् ।
०५३ सालमा रोल्पामा बैठक गरेर बादलमाथि प्रचण्डले कारबाही गरे, तर कारबाही गर्दा पनि प्रचण्ड रोएका थिए । आफ्नो नजिकको साथीलाई कारबाही गर्नुपर्दा प्रचण्डले त्यतिवेला नै भनेका थिए, 'रुँदारुँदै हाँस्नुपर्ने, हाँस्दाहाँस्दै रुनुपर्ने ।' यो वाक्यांश प्रचण्डले अरू धेरैपटक प्रयोग गरेका छन् ।
०५४ सालतिर भारतको पञ्जावमा भएको पार्टीको कार्यक्रममा प्रचण्ड भाषण गर्दागर्दै रोए । कार्यक्रममा सहभागी प्रचण्डकी छोरी रेणु भन्छिन्, 'क्रान्तिको त्याग, बलिदानी र तपस्याको कुरा गर्दा उहाँ रुनुभयो ।'
०६१ सालको बहुचर्चित चुनवाङका बैठकहलमा पनि प्रचण्ड रोएका थिए । प्रचण्ड रोएपछि बादल पनि रोए । तर, सँगै रहेका डा. भट्टराईले भने जति रुनु थियो यसअघि नै रोइयो भन्दै मन थामेका थिए । बैठकपछि आयोजित सांस्कृतिक कार्यक्रममा पनि प्रचण्ड खुवै रोए । उनीसँगै रोए बाबुराम, बादल र सबैजसो नेता । सांस्कृतिक कार्यक्रममा घाइेत योद्धालाई उद्धार गरेको अवस्था देखाइएको थियो । यो देखेर प्रचण्ड चस्मा निकालेर रुमालले आँसु पुछ्दै रोए ।
प्रचण्ड धेरै बैठकमा र धेरै सार्वजनिक कार्यक्रममा रोएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष सार्वजनिक रूपमा पछिल्लोपटक गत २४ चैतमा काठमाडौंको खुलामन्चमा रोए । जनआन्दोलन दिवसमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्ड जनयुद्ध तयारीपूर्व आफ्ना महिला कार्यकर्तामाथि भएको बलात्कारको घटना सम्झँदै रोएका थिए ।
०४६ सालको जनआन्दोलनपछि राजा वीरेन्द्र र दलहरूबीच भएको सम्झौता धोका हो भन्दै फेरि आन्दोलनमा उत्रँदाको प्रसंग कोट्याउँदा पनि प्रचण्डको गला अवरुद्ध भयो । उनले खुलामन्चमा भने, 'पञ्चायतविरुद्ध हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ, अन्धाधुन्ध गोली हानियो, दुई दर्जन निर्दोष जनता मारिए । व्यवस्था परिवर्तन भनियो, तर सबै हत्यारा सरकारमा बसिरहे ।' यति बोलिनसक्दै प्रचण्डले मन थाम्न सकेनन् र आँसु चुहाए ।
खुलामन्चको खुलासभाभन्दा दुई महिनाअघि प्रचण्ड जनमुक्ति सेनाको आठौं वाषिर्कोत्सवमा नवलपरासी हात्तीखोरमा रोए । 'जनयुद्धमा रगत बगाउने र ज्यान दिने योद्धालाई बिर्सेको छैन,' प्रचण्डले भने, 'वीरहरूको सपना साकार पार्न आवश्यक परे म बालुवाटारभित्रै बलिदानी दिन तयार छु ।' यसो भन्दा उनले आँसु खसाइसकेका थिए । गला अवरुद्ध भयो उनको, तर त्यहीवेला माइक बिग्रेकाले उनले तत्कालै थप बोल्नुपरेन ।
राजनीतिक सहकर्मीजस्तै परिवारका सदस्य पनि प्रचण्ड पटक-पटक रोएको स्मरण गर्छन् । 'जनयुद्धको नेतृत्वकर्ता भएर नै होला युद्धका भयानक घटनाले उहाँलाई रुवाउँछन्,' छोरी रेणु दाहाल भन्छिन्, 'सहिद, बेपत्ता र घाइतेका कुरा गर्नेबित्तिकै उहाँ भावुक बन्नुहुन्छ ।'
छोरी रेणुका अनुसार घरमा बसेर अनौपचारिक कुरा गर्दा पनि आँसु आउँछन् प्रचण्डका । जनयुद्धसम्बन्धी भिडियो हेर्दा पनि उनी मन थाम्न सक्दैनन् । 'युद्धमा ज्यान गुमाउने परिवारका लागि अभिभावकत्वको महसुस हुन्छ उहाँलाई, मन थाम्न नसकेपछि रुनुहुन्छ,' उनले भनिन्, 'हाम्रैअगाडि धेरैपटक रुनुभएको छ ।'
आफ्नै नेतृत्वमा सरकार गठन भएपछि पनि प्रचण्ड घरमा पनि धेरैपटक रोएका छन् । पिता मुक्तिराम भन्छन्, 'घरमा पनि युद्धकालका कुरा हुन्छन्, सरकारमा पुगे पनि केही गर्न दिएनन् भन्दै बाबु रुन्छ ।'
मेसो नै पाउन सकिएन
अमृत बोहरा
एमाले नेता
प्रचण्डजीहरू खुला राजनीतिमा आएको तीन वर्ष भयो । उहाँलाई हामीले विभिन्न भूमिकामा देखिसक्यौँ । तर, उहाँ किन यति धेरै रुनुहुन्छ, मेसो नै पाउन सकिएन ।
मेरो विचारमा प्रचण्डको रुवाइमा दुईवटा रहस्य हुन सक्छन् । एउटा- उहाँ जनतालाई अलमलमा पार्न सचेत ढंगले रुनुहुन्छ । दोस्रो- उहाँ साँच्चै नै भावुक हुनुहुन्छ । तर, कारण यही हो भन्न गाह्रो छ ।
उहाँले जनतालाई धेरै आश्वासन दिनुभएको थियो, सबै पूरा गर्ने ठाउँमा त उहाँ आफैं हुनुहुन्छ, पूरा गरे भइहाल्यो, रोइरहनुपर्दैनथ्यो ।
यो त उहाँको सीप हो
डा. मीनेन्द्र रिजाल
कांग्रेस नेता
प्रचण्डसँग राजनीति गर्ने सीप छ । उहाँ जतिवेला जे अनुकूल हुन्छ, त्यही गर्नुहुन्छ । उहाँ वेलावेलामा रुने कारण पनि त्यही हो ।
१२ बुँदे सम्झौतादेखि संविधानसभा चुनावसम्म आइपुग्दा प्रचण्डको काँधमा धेरै ठूलो जिम्मेवारी आएको थियो । उहाँले त्यो जिम्मेवारी पूरा गर्ने इमान्दारी होइन, राजनीतिको केन्द्रमा रहने सीप मात्र देखाउन खोजिरहनुभयो ।
उहाँ जिम्मेवार नबनेकाले देश झन् अस्थिरतामा फसेको छ । यो अवस्थाले उहाँ पनि डुब्नुहुन्छ, मुलुकलाई पनि संकटमा पार्नुहुन्छ ।
म त रुने सल्लाह दिन्छु
डा. निराकारमान श्रेष्ठ
मनोरोग विशेषज्ञ
मानिस ठ्याक्कै यही नै कारणले रुन्छ भन्ने होइन । थोरै धेरै सबै रुन्छन् । तर, संवेदनशील भावना भएका मान्छे अझ धेरै रुन्छन् ।
आकांक्षाहरू पूरा गर्न नसक्दा पनि मान्छे रुन्छ । मान्छे किन रोयो भन्ने प्रश्न त उठ्छ नै । तर, रुनु नराम्रो होइन । भित्र उकुसमुकुस भएको छ भने रुँदा भावनाहरू पोखिन्छन्, मन हल्का हुन्छ ।
ठूलो पीडा हुँदा पनि जबर्जस्ती गुम्सिएर बस्ने मान्छे पनि हुन्छन् । त्यस्ता मानिसलाई डिप्रेसनको समस्या आउँछ । मेरो त सबैलाई सल्लाह छ- चित्त दुख्यो भने रोइहाल्नोस् ।
सानोमा पनि धेरै रुन्थे प्रचण्ड
केटाकेटीमा सबै रुन्छन्, तर बाबु मुक्तिरामका अनुसार केही खास घटनामा प्रचण्ड निकै रोएका थिए । 'हामी कास्कीबाट चितवन बसाइँ सरेपछि बाबु (प्रचण्ड) लाई एकैपटक तीन कक्षामा भर्ना गरिदिएँ । अर्धवाषिर्क परीक्षामा फेल भयो, अनि त ग्वाँ-ग्वाँ रुँदै घर आयो,' मुक्तिराम सम्झन्छन् ।
छोराको रिजल्ट सुन्न मुक्तिराम पनि विद्यालय पुगेका थिए । 'त्यतिवेला उसलाई ३ कता र ६ कता फर्केको हुन्छ भन्नेसमेत थाहा थिएन । भर्ना भएको तीन महिनामा नै जाँच भयो । पास कसरी होस् ?,' उनले भने । चितवन बसाइँ सर्नुअघि प्रचण्ड कास्की लेवाडेमा गोठाला मात्र थिए । उनी नौ वर्षको उमेरमा एकैपटक तीन कक्षामा भर्ना भएका हुन् ।
दुई वर्षपछि फेरि उनी एकपटक नराम्रोसँग रोए । 'खेतबाट पराल बोकेर म र ऊ (प्रचण्ड) घर आउँदै थियाँ । भारी बोकेर हिँड्दाहिँड्दै बाटोमा नै रात पर्ला जस्तो भो, ऊ हिँड्न सकेन,' बाबुले सम्झिए, 'एकैछिन यहाँ बस्, म भारी पुर्याएर लिन आउँछु भन्दा पनि मानेन, गालामा चट्काएको त सम्हाल्नै नसकिने गरी रोयो, उल्टै फसाद ।' मुक्तिराम त्यो घटनापछि आफूले कहिल्यै हात नलगाएको बताउँछन् ।
बहिनीहरूको बिहेमा पनि प्रचण्ड निक्कै रोएका थिए । 'मेरो बिहेमा पनि दाइ रुनुभयो । अरू बहिनीको बिहेमा पनि उस्तै रुनुभयो,' चितवनमा रहेकी प्रचण्डकी ठूली बहिनी अप्सरा भण्डारीले नयाँ पत्रिकासँग भनिन् । प्रचण्डका पिता मुक्तिराम भन्छन्, 'छोरीहरूको विवाहमा आमा रुन्थिन्, अनि ऊ (प्रचण्ड) पनि आमासँग रुन्थ्यो ।'
सार्वजनिक भएपछि परिवारजनसँगको पहिलो भेटमा पनि प्रचण्ड रोएका थिए । 'खै, बहिनीहरूले बाँचेपछि त भेट हुँदोरहेछ भन्दै के-के भनेछन् । ऊ रोइहाल्यो,' मुक्तिरामले भने ।
प्रचण्डकी आमा भवानीदेवीको ०५१ सालमा निधन भएको हो । पिता मुक्तिरामका अनुसार त्यतिवेला प्रचण्ड जनयुद्धको तयारीमा थिए । 'आमालाई राम्ररी उपचार गराउन नपाएकोमा मन दुखाउँदै अहिले पनि रुन्छ,' पिता मुक्तिराम भन्छ, 'अहिले पनि आमाको याद गर्छ । सम्झनेबित्तिकै आँसु चुहाउँछ ।'
http://www.nayapatrika.com/newsdetail.php?id=904181040307027&n_id=23